धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शाहलाई आइतबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बनेका छन्। उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए।पुन: समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाह फेरि मुख्यमन्त्री बनेका हुन्।
उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन्। प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएका थिए।
तर २०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए।
१७ असारमा काङ्ग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी सरकारबाट बाहिरिएको थियो। त्यसपछि अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए।