काठमाडौं : काभा महिला नेसन्स लिगमा नेपालले सोमवार माल्दिभ्सलाई सोझो सेटमा हराएको छ। यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको नेपाल लिगको उपविजेता बनेको छ।
४ खेलमा ३ जित र १ हारको नतिजामा ९ अंक सहित नेपाल लिगमा दोस्रो भएको हो। अब नेपालले सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमिफाइनलमा शीर्ष टोली भारतले चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्नेछ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा मात्र ८ अंकमा रोक्यो। निरिह माल्दिभ्सलाई नेपालले २५-८ ले हरायो।
दोस्रो सेटमा भने प्रशिक्षक जगदीश भट्टले बेन्चका खेलाडीलाई उतारे। यसपछि दोस्रो सेट केहि बेर प्रतिस्पर्धात्मक बन्यो। एक समय नेपाललाई माल्दिभ्सलाई पछि पनि पार्यो। तर निरूता ठगुन्ना कोर्टमा छिरेपछि यो सेट पनि नेपालले २५-१९ ले जित्दै २-० को स्पष्ट अग्रता बनायो। तेस्रो सेट नेपालले २५-१८ मा जित्यो ।
आजै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई २५-१३, २५-२१, २५-२० ले हराएको थियो। तेस्रो जितसँगै भारत १० अंक सहित शीर्षस्थानमा रहन सफल भयो। ९ अंक सहित नेपाल दोस्रो,७ अंकसहित इरान तेस्रो भयो । श्रीलंका ४ अंक जोडेर चौथो हुँदा अंकबिहिन माल्दिभ्स पाँचौ हुँदै लिग चरणबाटै बाहिरियो।
भोलि दिउँसो ३ बजे सुरु पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ।
लिग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टोलीलाई रहनेछ।