दार्चुलाः दार्चुलामा नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको दुँहु गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खंलगा तिंकरखेडामा ३० वर्षीय जनक बडालले सञ्चालन गरेको बडाल फास्टफुडको चौथो तल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बडालसहित ६ जनालाई नगद १ लाख २४ हजार ८८० र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।
पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनसिंह महरा, नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्णसिंह धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देवराम पार्की, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का निरज धामी, नौगाड गाउँपालिका वडा नम्बर १ का जनक ठेकरे र होटल संचालक बडाल रहेका छन्।
प्रहरीले पक्राउ गरिएको स्थानबाट १ लाख २४ हजार ८८० नगद र २ गड्डी तास बरामद गरेको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखी कानूनी कारबाही अगाडि बढाइएको जनाइएको छ।
जुवामा समातिएका नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष धामी उनै नेता हुन्, जो बेला बेला यस्तै अपराधमा पक्राउ परिरहन्छन्। उनी गत वर्षको जेठ २५ गते पनि चेक बाउन्सको आरोपमा पक्राउ परेका थिए। तत्कालीन समयमा ग्लोबल आईएमई बैंकमा आफ्नो नाममा रहेको खाताबाट ३० लाख रुपैयाँ भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि धामी पक्राउ परेका थिए।
प्रहरीका अनुसार धामीले ३० लाख रुपैयाँ लेखिएको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उनको खातामा रकम नभएपछि कुँवरले प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय, मालखेतीबाट खटिएको टोलीले धामीलाई नियन्त्रणमा लिएको थियो।
नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका धामी त्यो बेला पनि थुनामा बसेर छुटेका थिए। अहिले उनै धामी पुनः गृहजिल्लामा जुवातासमा समातिएका हुन्। उनले कयौंलाई पैसा उधारो लिएर ठगी गर्ने गरेको पनि गुनासो गरिएको छ। यद्यपि सो बारे प्रहरीले हालसम्म आधिकारिक उजुरी आइनसकेको जनाएको छ।
र, यो पनि: दार्चुलामा दुई वडाध्यक्षसहित ६ जना जुवाडे पक्राउ