धनगढीः कैलाली जिल्ला अदालतबाट चोरी भएको पेस्तोलसहितका सामान अझै फेला परेको छैन्।
अदालतबाट चोरी भएको २८२ दिनसम्म न सामान फेला परेको छ न त चोरी कार्यमा संलग्न कुनै व्यक्ति नै। अदालतबाट २०८० कात्तिक १९ गते राति चोरी भएको थियो। तर, चोरी भएको २८२ दिनसम्म चोरीमा सङ्लग्न कुनै व्यक्ति पत्ता लागेको छैन्। अदालतले २०८० कात्तिक १९ गते आइतवार राति पेस्तोल, गोली र मोबाइल चोरी भएको भन्दै प्रहरीमा छानबिनका लागि निवेदन दिएको थियो।
अदालतबाट एक थान कटुवा पेस्तोल, चार राउण्ड गोली र पाँच थान मोबाइल चोरी भएको थियो। अदालतले प्रहरीलाई अनुसन्धान गरेर दोषी पत्ता लगाउन पत्राचार गरेको भएपनि प्रहरीले अहिलेसम्म कुनै काम गर्न सकेको छैन्। जिल्ला प्रहरी कार्यालय, कैलालीले अदालतमा कुनै पनि जवाफ तथा चोरीका विषयको अनुसन्धान पेस गरेको छैन्।
जिल्ला अदालत कैलालीका स्रेस्तेदार मानबहादुर विष्टले भने, ‘गत वर्ष चोरीको घटना भएको थियो। प्रहरीलाई अनुसन्धान कार्य अगाडी बढाएर दोषी पत्ता लगाउन लेखेर पठाएका थियौ। सो सम्बन्धमा प्रहरीबाट कुनै जानकारी आएको छैन।’ चोरी मुद्दामा आएका मोबाइलहरु नै चोरी भएको दाबी गरिएपनि अदालतले सो विषय सार्वजनिक गरेको छैन।
जिल्ला अदालतबाट प्रमाणका रुपमा रहेको एक कटुवा पेस्तोल, चार राउण्ड गोली र पाँचवटा मोबाइल कुन मुद्दाका प्रमाण थिए, भन्ने विषयमा अदालतले खुलाएको छैन्। अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर भित्र पसेका चोरले मुद्दाका मिसिलका साथमा रहेका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चारवटा गोली चोरी गरेका थिए।
अदालतको प्रवेशद्वार र परिसरभित्र प्रहरीले सुरक्षा दिने गरेको छ। तर, दक्षिणतर्फको भागबाट भित्र पसेको व्यक्ति स्रेस्तेदार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा सबैतिर गएको देखिएको थियो। तर, त्यही परिसरमा कार्यरत प्रहरीले राति चोरी भएको थाहा पाउन सकेका थिएनन्।