काठमाडौं: मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ। बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो ।
बाघले आक्रमण गरी गोठमा रहेको भैँसीलाई पनि घाइते बनाएको छ। घटनाको प्रकृति हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसलाई एउटा अनौठो घटना मानिएको छ। गोठमै भैँसीलाई आक्रमण गर्न आएको बाघ भैँसीको प्रतिकारमा मरेको छ भने बाघको आक्रमणमा परेको घाइते भैंसी अझै जीवित छ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समिति मनहरीका सचिव कमल राईका अनुसार स्थानीय बलबहादुर राईको गोठमा छिरेको बाघले भैंसीको गर्दनमा आक्रमण गरेको देखिन्छ। केही समयअघि मात्रै ब्याएको र पाडो मरेको पीडामा रहेको लैनो भैँसी अलि छुच्छो स्वभावको थियो। मुन्टो हल्लाएर बाघको प्रतिकार गर्यो। बाघलाई झट्कालेर गर्दनबाट हटाएपछि पुन झम्टन सकेन। भैँसीले बाघलाई लात्तीले हान्ने र झम्टिने गरिरह्यो। यद्यपि, भैँसी दाम्लोको बन्धनबाट मुक्त थिएन। भैँसीको प्रतिकारमा परेको बाघले गोठमै ज्यान फाल्यो।
यसकारण मर्यो बाघ, भैँसी जिउँदै
खासमा बाघको स्वास्थ्य अवस्था अत्यन्तै दर्दनाक थियो। उ मुश्किलले मात्रै हिँड्नसक्ने स्थितिमा रहेको अनुमान लगाउन सकिन्छ। बाघ टाउको र पछाडिको फिलामा घाउ भएर कीरा परेको अवस्थामा देखिन्छ। बिरामी भएपछि कैयौँ दिनदेखि खान नपाएको बाघ शिकार खोज्दै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट गाउँ पसेको अनुमान छ।
भैँसीको प्रतिकारबाट बाघको शरीरमा रहेको घाउहरुमा दख्खल पर्दा बाघ मरेको स्थानीयको बुझाई छ। दाम्लोले बाँधिएको भैँसीको गर्दनमा चोटहरु छन्।
समितिका सचिव राईले भैँसी जीवितै रहे पनि बाँच्ने अवस्था नरहेको बताए। अहिले चितवन राष्ट्रिय निकुञ्जबाट आएको सुरक्षाकर्मी, प्रशासन तथा मेडिकल टिमले घटनास्थल अवलोकन गरी मुचुल्का उठाएर मृत बाघलाई चितवन लगेको छ।
मनहरी गाउँपालिका ६ का वडाध्यक्ष युवराज थपलियाले कालगतिले नै मर्ने अवस्थामा रहेको बाघ घरपालुवा भैँसीलाई खान आएको बेला मरेको कुरामा सबै पक्ष सहमत भएपछि सोहीबमोजिम मुचुल्का उठाइएको बताए। यद्यपि, उक्त बाघ केही दिनदेखि नै त्यस क्षेत्रमा हिँडिरहेको बताइन्छ।