धनगढी: टाउको दुःख्ने समस्याका कारण सेती प्रादेशिक अस्पताल भर्ना भएकी एक विवाहित युवतीको मृत्यु भएको छ।
बैतडीको पाटन नगरपालिका–६ घर भएर धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएकी २६ वर्षीया ईश्वरी भण्डारी पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बिहीबार बिहान ५ बजे टाउको दुःख्ने समस्या लिएर प्रादेशिक अस्पताल भर्ना भएकी भण्डारीलाई ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताए।
उनकाअनुसार बुधबार पनि अस्पताल पुगेकी भण्डारीलाई चिकित्सकले औषधी दिएपछि घर फर्किएकी थिइन्।
तर बिहीबार बिहान पुनः अत्यधिक टाउको दुखेपछि श्रीमानले अस्पताल पुगाएका थिए। चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए।
यस्तै बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा गाडी धनीको मृत्यु भएको छ। बिहीबार दोगडाकेदार गाउँपालिका–२ कफलकोटस्तिथ सिल्लेगडा–कटौजपानी कच्ची सडकमा सुपप्र ०२–००१ क ०७३४ नम्बरको मिनि ट्रक दुर्घटना गाडी धनीसुर्नया गाउँपालिका–६ का ३० बर्षीय जगदीश अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा बस्दै आएका अवस्थीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सुर्नया गाउँपालिका– ६ मूलखटालीका चालक ३८ बर्षीय अम्मर अवस्थी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का राजेन्द्र राना घाइते भएका छन्।
दुर्घटनाको कारण खुलेको छैन।