बाजुरा: जिल्ला अस्पताल बाजुरामा सिटामोल अभाव भएकाे छ। जसकारण यहाँका सर्वसाधारण महँगो मूल्यमा बजारबाट सिटामोल किनेर खान बाध्य छन्।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोलसहित अन्य धेरै औषधिको अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले बताए। जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधिमध्ये सिटामोल, एसिलक सिडिजेट, ट्याप्लेट मेट्रोनलगायत २९ बढी प्रकारका औषधि अभाव भएको उनले बताए।
सरकारले जिल्ला अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क दिँदै आएको भए पनि बाजुरा जिल्लामा भने निःशुल्क तोकिएका अधिकांश औषधि उपलब्ध नभएको बडिमालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले बताए। निःशुल्क पाइने औषधि सरकारी फार्मेसीले बिक्री गर्न नमिल्ने भन्दै जवाफ दिएपछि आफूले निजी मेडिकलबाट औषधि किनेर ल्याएको उनले बताए।
जिल्लाका ९ वटै स्थानीय तहका साथै कर्णालीका हुम्ला, मुगु र कालीकोटका बासिन्दा पनि उपचारका लागि बाजुरा आउने गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष औषधि खरिदका लागि १० लाख रुपैयाँ दिएको थियो। तर, उक्त बजेट अघिल्लो आर्थिक वर्षमै अपुग भएको अस्पताल प्रशासनको भनाइ छ।
उक्त रकमबाट औषधि खरिद सँगै अस्पतालमा दैनिक प्रयोग गरिने एन्टी सेप्टी, बेटाडीनलगायतका औषधि खरिद गर्दा झनै अपुग भएको प्रशासनको भनाइ छ । यस वर्ष भने प्रदेश सरकारले औषधि खरिदका लागि बजेट दिएको छैन।