धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज बिष्ट अनिवार्य अवकाशमा गएका छन्। आज (आइतबार) बाट बिष्टसहित सुदूरपश्चिमका १३ जना प्रहरी अधिकृत अवकाशमा गएका हुन्।
सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षे सेवाअवधि कायम हुने आदेश भएपछि आइतबारबाट उनीहरू अवकाशमा गएका हुन्।
अवकाशप्राप्त बनेपछि एसएसपी बिष्टले आफू संगठनबाट सम्मानित रुपमा बिदा भएको र त्यसमा हर्षित रहेको बताएका छन्। वि.स २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका बिष्टले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान जस्ता कठिन सामाजिक कार्यमा काम गरेका थिए।
त्यसबिचमा आफूले कयौं आरोह-अवरोहहरू पार गरेको बिष्टले जनाएका छन्। नेपालकै चर्चित हत्याकाण्ड निर्मला प्रकरणमा तत्कालीन राजनैनिक नेतृत्वले उनलाई विवादमा ल्याएपनि अदालतले उनलाई सफाई दिएको थियो।
सफाई पाएर पुनः सेवा थालेका उनी पछिल्लो समय सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। आज सोही कार्यालयबाट उनी बिदा भएका छन्। उनलाई डिआईजी रविन्द्र केसीसहितले बिदाई गरेका थिए।
कुशल अफिसरका रुपमा परिचित बिष्टले विगतको इमान, धर्म र ज्ञानलाई अझै कायम राखेर काम गर्ने जनाएका छन्।
र, यो पनि: सुदूरपश्चिमका एसएसपी बिष्टसहित १३ प्रहरी अधिकृत अवकाशमा