काठमाडौं: नेपालको सिनेक्षेत्रमा कुनै बेला सुदूरपश्चिमका केही हस्तीहरुको दबदवा थियो। नायक तथा खलनायक पात्र बिराज भट्ट, पुस्कर भट्ट, स्वेता खड्का लगायतहरुको राम्रै नाम थियो। तर पछिल्लो समय उनीहरू हराउँदै गए।
पुनः सुदूरपश्चिमबाट उदाएका केही युवापुस्ताका नायकहरु चर्चामा छन्। नायक पुष्प खड्का पछिल्लो समय सिने क्षेत्रमा राम्रै जमिरहेका छन् भने बिराजले आफ्नो छोरालाई डेब्यु गराइरहेका छन्।
यस्तै लामो समय सिने क्षेत्रमै काम गरिरहेका दार्चुलाका युवा पुस्ताका लोकप्रिय नायक प्रकाश कुँवरले पनि चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन्। कुँवरले चलचित्र तथा कला क्षेत्रमा दर्जनौं अनुकरणीय कामहरु गरिसकेका छन्। उनै कुँवर अहिले महानायकको उपमा पाएका राजेश हमालसँग चलचित्र खेलिरहेका छन्।
कुँवरले हमालसँगको सहकार्यमा मुख्य भूमिका निभाईरहेका छन्। दार्चुलाबाट काठमाडौं सरि गएका कुँवर हालैमात्र ‘नरसिंहा अवतार’मा अनुबन्धित भएका छन्। उनी ‘लप्पन छप्पन २’ का निर्मातासमेत हुन्।
उनलाई पछिल्लो समय सुदूरपश्चिमबाट उदाएका सिने क्षेत्रका प्रकाश भनेर पनि चिन्ने गरिएको छ। व्यवसायीसमेत रहेका उनले आफू निर्देशक दिवाकर भट्टराईको नयाँ फिल्म ‘नरसिंहा अवतार’ अनुवन्धित भएको जानकारी दिए।
कुँवरले सो फिल्ममा जोडिन पाउँदा उत्साहित भएको बताएका छन्। कुँवरले यसलाई आफ्नो दोस्रो चलचित्र मानेका छन्। उनले पहिलोपटक सन् २०१३ चलचित्रमा डेब्यु गरेका थिए भने सन् २०१५ मा फिल्म जोनी जेन्टल म्यानमा पल शाहसँग काम गरेका थिए।
यस्तै उनले भारतीय कलाकार ल्याएर नेपालमा विभिन्न सिनेमाको काम गरेका छन् भने उनले दर्जन बढी म्युजिक भिडिओको निर्माता तथा कलाकार भएर पनि काम गरेका छन्।
अहिले उनी अनुवन्धित भएको चलचित्र भने एक्सन तथा सोसल ड्रामामा निर्माण हुने छ।सो फिल्ममा यसअघि राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह र राज कटुवाल अनुवन्धित भइसकेका छन्। यो फिल्मबाट राजेश हमाल आठ वर्षपछि अभिनयमा कमब्याक गर्दैछन्।
‘क्याप्टेन’पछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोज खनालले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन्। उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’ मा सँगै काम गरेका थिए। तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका छैनन्।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्म यही भदौको अन्तिम सातादेखि छायांकनमा जाने निर्माण पक्षको तयारी छ। निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ भने कात्तिक १५ गतेदेखि प्रदर्शन हुनेछ।