धनगढी : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका समर्थकबीच हिजोदेखी फलोअर्स वार चलेको छ ।
विभिन्न आरोप–प्रत्यारोपका विषयमा फरक मतका कारण उनीहरुका समर्थकबीच वाकयुद्ध भएको हो ।
रातारात ओलीका झण्डै १ लाख फ्लोअर्स घटेका छन् भने बालेनका १ लाख फ्लोअर्स बढेका छन् । बालेनका समर्थकहरुले प्रधानमन्त्री ओलीलाई अनफ्लो अभियान नै चलाएका छन् ।
ओलीका ६ लाख ६६ हजारबाट घटेर ५ लाख तल झरेको छ भने बालेबका २० लाखबाट बढेर झण्डै २१ लाख १० हजार पुगेको छ ।
के हो तनाव ?
मेयर बालेन्द्रले सोमबार एमाले कार्यकर्ताहरूलाई ‘सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन’ प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । एमालेबाट प्रदेश सांसद रहेकी नेतृ रेखा शर्माले नाबालिकालाई घरेलु हिंसा गरेको विषयमा एमाले कार्यकर्ताहरुसँगको विवादले उग्ररुप लिएपछि मेयर बालेन्द्रले फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएका हुन् ।
त्यसअघि आइतबार बालेन्द्रले एमालेबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद शर्माले एकजना बालिकालाई घरेलु श्रमिकका रुपमा राखेर शोषण गरेको घटनामा प्रधानमन्त्री ओलीलाई मुछेका थिए ।
सांसद शर्मालाई अदालतले मुद्दा चलाउनू भन्दा पनि सरकारले जोगाएर राखेको बालेन्द्रको टिप्पणी थियो । काठमाडौं महानगरपालिकाले २ महिनादेखि कारबाही अघि बढाउनु भन्दा पनि सरकारले प्रदेश सांसद शर्मालाई पक्राउ नगरे दाबी उनको थियो ।
‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा । उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एकजना नाबालिकालाई घरेलु कामदारका नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक कुटपिट गर्दै आउनु भएको छ’, बालेन्द्रले शर्माको तस्बिरसहित फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनू भन्दा पनि यो सरकारले समातेको छैन । अदालतले पनि मुद्दा चलाउनू भनिसकेको छ ।’
मेयर बालेन्द्रले प्रधानमन्त्री ओलीको सुशासनबारे पनि प्रश्न उठाएका छन् । ‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले पनि समात भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समात्नुलाई भन्छ’, उनले ओलीमाथि प्रहार गर्दै प्रश्न गरेका थिए, ‘सायद तपाईंका लागि सुशासनको अर्थ बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समात्ने ? कि नसमात्ने ?’
महानगर प्रमुख बालेन्द्रको आइतबारको पोस्ट मंगलबारसम्म आइपुग्दा फेसबुकबाट हटिसकेको छ । कतिपयले एमालेका कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेपछि बालेन्द्र आफैंले स्टाटस फेसबुकबाट मेटाएको (डिलिट गरेको) बताएका छन् ।
तर, बालेन्द्रको सचिवालयले भने प्रयोगकर्ताहरुले फेसबुकलाई रिपोर्ट गरेपछि उक्त स्टाटस मेटिएको बताएको छ ।
यसै सन्दर्भमा बालेन्द्रले अर्को पोस्ट गर्दै भनेका छन्,‘पोष्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’