महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालय लफडा भएको छ। आज (बुधबार) परिक्षा केन्द्र रहेको सो विद्यालयमा ४ जना विद्यार्थीलाई निकालेपछि लफडा भएको हो।
स्रोतका अनुसार जिल्लाको भीमदत्त नगरपालिका-४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय प्राविधिकतर्फका विषयको परिक्षाको सेन्टर थियो। परिक्षा केन्द्र रहेको सो शिक्षालयमा गार्ड (निरीक्षक) ले ४ विद्यार्थीलाई हलबाट निकालेका थिए।
आज प्राविधिक विषयतर्फका भेटेरिनरी र कृषितर्फको परीक्षा थियो। जसमा वैजनाथ मावि र फारवैस्टर्न स्कुल अफ मेडिसिनका विद्यार्थीहरुको परीक्षा थियो।
शैक्षिक क्षेत्रका जानकारहरुले शिक्षा ऐनमा निरीक्षकले परिक्षार्थीलाई निकाल्न नपाइने बताएका छन्। तर निरीक्षकले ४ जनाको कापीमा रातो साइन हानेर निकालेको बताइएको छ। जुन शिक्षा ऐनविपरीतको कुरा हो।
यस्तै शिक्षालय प्रमुख नै सम्बन्धित शिक्षालयको केन्द्राध्यक्ष बन्ने नियम भएपनी डाइरेक्टर पद सिर्जना गरि परमल साउदलाई सो शिक्षालयमा केन्द्राध्यक्ष बनाएको पनि पाइएको छ। यो पनि ऐनविपरीत हो।
जबकी शिक्षालय प्रमुख भने पङ्कज रावल हुन्। यस्ता विषयमा विभिन्न राजनीतिक दलका विद्यार्थीका संगठनले विरोध जनाएका छन्।