काठमाडौंः अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दा टुंगिसकेको छ। मुद्दा चल्दै गर्दा करिब एक वर्ष उनी जेलमै बसे। त्यतिबेला पलको पक्षमा एक दर्जन वकिलहरुले बहस गरेका थिए।
सो क्रममा पलले एक वर्षभित्र चार करोडभन्दा बढी पैसा सकिएको बताएका छन्। उनले एक अन्तर्वार्तामा जीवनभर कमाएको पैसा सकिएर पनि घाटा गएको बताएका हुन्।
‘वकिलहरुलाई पे गर्नुपर्छ, एक पटक बहस गर्दा १० जना वकिल हुन्छन्’, उनले भने, ‘एक पटकमा १०÷१५ लाख सकियो, एक वर्षमा ४०÷५० पटक बहस भयो होला, धेरै खर्च भयो।’
दाङ गृह जिल्ला भएका पलले घटना हुनुअघि काठमाडौँमा घर बनाउने तयारी भइरहेको बताएका थिए। तर अहिले त्यो सपना पनि चकनाचुर भएको उनको अनुभव छ।
बलात्कार मुद्दाकै कारण पछिल्लो समय पलका दर्शकहरु दुई वर्गमा विभाजित भएको देखिन्छ। कतिपयले पललाई आइडल मान्दै आएका छन्। भने, कतिपयले अझै पनि एक अवोध युवतीको फाइदा उठाएको भन्दै दोषी ठान्ने गरेको पाइन्छ।