काठमाडौं: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली अवकाशमा गएका छन्। आजबाट उनी अवकाशप्राप्त बनेका हुन्।
उनलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रम बिच बिदाइ गरेका छन्।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त भएका ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे।
ज्ञवाली वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। ज्ञवाली भदौ २६ गतेबाट सेवानिवृत्त हुन हुँदैछन्।
उसो उनीमाथि छानबिन थालिएकोमा अझै सकिएको छैन। उनको जागिर अवधि सकिएपनी उनीमाथि आरोप लागेका विषयमा छानबिन जारी राखिएको हो।
के हुँदैछ छानबिन ?
एआईजी ज्ञवाली निकै विवादित प्रहरीका वरिष्ठ अधिकारी हुन्। उनकै समकक्षी टेकप्रसाद राईको नेतृत्वमा गठित छानबिन टोलीले उनीमाथि छानबिन थालेकोमा अहिलेसम्म सकिएको या नसकिएको कुनै प्रतिक्रिया दिएको छैन।
साउन १५ गतेबाट काम थालेको सो टोलीले १ महिनाभन्दा बढी समयावधि गुजारिसकेको छ। तर छानबिन कहाँ पुग्यो ? त्यसको भने कुनै टुंगो छैन।
केही समय अगाडि चर्चित ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेसँग अमेरिका र दुबई घुम्न सपरिवारका निम्ति टिकट लिएको, उमेरसम्बन्धी विवाद, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको र छोराछोरीलाई विदेशमा राखेको लगायत अनेकन विषयमा उजुरी परेपछि एआईजी राईको नेतृत्वमा छानबिन टोली बनाइएको थियो। सो टोलीले उनीमाथि छानबिन थालेको थियो।
साथै ज्ञवालीमाथि पूर्व गृहमन्त्री रवि लामिछानेसँगै मिलेर आईजीपी वसन्त कुँवरलाई हटाएर आफू आइजिपी हुने खेलमा लागेको पनि आरोप लागेको थियो।
तत्कालीन समयमा लामिछाने गृहमन्त्री बनेसङ्गै एकाएक केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख बनाइएका उनी र उनको सचिवालयमाथि त्यसबीच प्रहरी मुख्यालयमा दर्जनौं उजुरी परेका थिए।
ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने, एलओडी डिस्कोको नावालिका करणी, बालमन्दिरको जग्गा घोटाला,सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेकोसमेत उजुरी परेका थिए।
उजुरीपछि हालका गृहमन्त्री रमेश लेखक आएपछि राईको नेतृत्वमा गठित छानबिन कार्यदल काम थालेको थियो।
त्यस क्रममा ज्ञवालीविरुद्ध लागेका आरोप पुष्ट्याइँ हुने दसी प्रमाणहरु फेला परेको प्रहरी स्रोतले जनाएको छ। तर कारबाही नगरी उनलाई घर पठाइएको हो।