ललितपुर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् ।
एसियाली खेलकुदको तयारीमा रहेकी चौधरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी थिइन् । प्रशिक्षणका लागि लुभुको एक घरमा नै बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।
भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सन्जु झुन्डिएको अवस्थामा कोठामा फेला परेको जनाइएको छ । घटनाबारे थाहा पाएर बिहान साढे ५ बजे घटनास्थलमा पुगेको प्रहरीले अहिले अनुसन्धान सुरु गरेको छ ।
बाँके घर भएकी सन्जुले १३ औं सागमा भारत्तोलनमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।
१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् ।
उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।
नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र अनुसन्धानपछि थप जानकारी आउने बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा करिब १२ घन्टा अगाडि ‘मिसिङ यु लभ’ लेख्दै एउटा भिडियो पोष्ट गरेकी रहिछन् । सो फेसबुक पोष्ट सन्जु आँफैंले गरेकी हुन् वा होइनन् त्यो भने अनुसन्धानकै पाटो रहेको प्रहरीले जनाएको छ ।
रातीसम्म प्रशिक्षक महर्जनको घरमा भएको भोजमा सहभागी भएकी सन्जुलाई बिहान साढे ५ बजेतिर कोठाभित्र ढोकामा चुकुल लगाएकै अवस्थामा झुन्डिएको अवस्थामा देखिएको जनाइएको छ ।