धनगढी: नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा तथा काज भएको जनाएको छ। उनीहरूले २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ।
सो सरुवामा सुदूरपश्चिमका पनि केही एसपी परेका छन्। जसमा एसपी खड्क बहादुर खत्री नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवनबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरमा सरुवा भई आउने भएका छन्।
सो गणमा रहेका तत्कालीन एसपी प्रेम बहादुर बस्नेत हालै अनिवार्य अवकाशमा गएका थिए।
यस्तै अर्का एसपी ढकेन्द्र खतिवडाको भने नेपाल प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगर, कञ्चनपुरबाट जिल्ला प्रहरी कार्यालय, सप्तरी सरुवा भएको छ। उनको स्थानमा भने हाललाई कसैलाई पठाएको देखिदैन।
यस्तै अर्का एसपी सरोज पौडेल भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, ईटहरी सुनसरीबाट सरुवा भएर सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढी कैलालीमा आएका छन्।
उनी इन्चार्जको रुपमा पठाइएका हुन्। यस अघिका गणका एसपी देबेन्द्र बहादुर पाल हालै अनिवार्य अवकाशमा गएका थिए।
त्यस्तै अर्का एसपी श्यामबाबु ओलियाको पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा धनगढी कैलालीबाट जिल्ला प्रहरी कार्यालय कास्की सरुवा भएको छ। उनको स्थानमा पनि पदपूर्ति भएको देखिदैन।
र, यो पनि: ४१ एसपी र १४३ डिएसपी यताउता, को कता ? [नामसहित]