धनगढी: सुदूरपश्चिम प्रदेशसहित देशभरमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आज (सोमबार) देखि लामो दूरीका सवारीसाधन ठप्प पारेका हुन्।
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। माग पूरा नभए सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन्। राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको आरोप लगाएका छन्।
उता सरकारले यातायात व्यवसायीका माग सम्बोधन गर्न पहल पनि थालेको छ। गृह मन्त्रालयमा एक घण्टादेखि सरकार र आन्दोलनरत पक्षबीच वार्ता जारी छ। यद्यपि यता आन्दोलनकारीले भने सुदूरपश्चिमकै प्रदेश राजधानी रहेको कैलालीको धनगढीमा भने ज्यादती नै गरेको पाइएको छ।
उनीहरूले अटोरिक्साको चाबी थुतेर ५/५ सय जरिवाना तिराउनेदेखि अभद्र व्यवहार गर्नेसम्मको हर्कत गरेको गुनासो आएको हो। आन्दोलनले गर्दा यातायात सेवा अस्तव्यस्त बनेकोमा नागरिकले अनावश्यक हैरानी खेप्नुपरेको छ।