धनगढी: नेकपा एमालेका महासचिव शङ्कर पोखरेल सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी पुग्नै लागेका छन्। उनी पार्टीको निर्धारित कार्यक्रमका लागि धनगढी आउन लागेको बताइएको छ।
यस्तै हिजोमात्रै एमालेका नेता एवं उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी पनि धनगढी आइपुगेका थिए। उनीपछि हिजै अर्का नेता कर्णबहादुर थापा, गणेश ठगुन्ना लगायत पनि धनगढी ओर्लिएका थिए।
उनीहरू लगायत सुदूरपश्चिम एमालेका शीर्ष नेताहरु धनगढीमा भेला भएको बुझिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपालबाहिर रहेका बेला पार्टी कार्यक्रमका लागि महासचिव आउन लागेका हुन्।
हिजो आएका मन्त्री भण्डारीले भने हिजै कैलालीमा जिल्लाका विषयगत कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखसँग मन्त्री भण्डारीले बैठक समेत गरेका थिए। उनले कालोबजारी गर्नेलाई नछोड्ने भन्दै कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा पनि सहभागिता जनाएका थिए।
सो कार्यक्रमपछि उनीसहितको टोली उद्योग वाणिज्य संघ कैलालीका अध्यक्षकै होटलमा बास बसेको थियो। अहिले केहीबेरमै सोही होटलमा महासचिव पोखरेलको पनि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको बुझिएको छ।