स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न पाइने भएको छ।
निर्वाचन आयोगले बुधवार सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि भनेको हो।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो।
सुदूरपश्चिमका यी पालिका र वडामा हुनेछ उपनिर्वाचन
गत वर्षको माघ पहिलो साता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको थियो। जोशीको क्यान्सरका कारण निधन भएपछि उपाध्यक्षको पद रिक्त छ। उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
यस्तै, एमालेबाट निर्वाचित बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जन बोहराको जेठ २०८० मा, कांग्रेसबाट निर्वाचित डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा, माओवादी केन्द्रबाट निर्वाचित दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको असार २०८० र कांग्रेसबाट निर्वाचित भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको पुस २०८० मा निधन भएको थियो।
चारवटै वडामा वडाध्यक्षको पद रिक्त छ। प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशमा पाँच जनप्रतिनिधिको पद रिक्त रहेकोले पाँच पदका लागि उपनिर्वाचन हुने छ।