धनगढीः सुदूरपश्चिममा एकैदिन चट्याङका ८ घटना घटेका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार बाजुरामा तीन, कञ्चनपुरमा तीन तथा डडेल्धुरा र दार्चुलामा एक÷एक चट्याङका घटना घटेका हुन्। तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कञ्चनपुरमा दुई र बाजुरमा एक गरी तीन जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो। कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ। ‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए,’ उनले भने, ‘सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए। उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको छ।’
यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको । गाउँपालिकाको वडा नम्बर १ नौरंगा बस्ने २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो । बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको डिएसपी जोशीले बताए। बारीमा काम गर्ने क्रममा चट्याङ परेको हो।
उता बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी दीलीपकुमार गिरीका अनुसार जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर आज विहान घटनास्थलमै मृत्यु भएको हो । सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।
चट्याङको पूर्वानुमान गर्न मुस्किल
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन जारी गर्ने मौसमी बुलेटिनमा मेघगर्जन र चट्याङको सम्भावना उल्लेख गरेको हुन्छ। तर मौसमविद् बिनु महर्जनका अनुसार चट्याङबारे पूर्वानुमान गर्न सक्ने प्रविधि नेपालमा छैन। ‘चट्याङको पूर्वानुमानका लागि हामीसंग प्रविधि छैन,’ उनले भनिन्, ‘तर पनि मौसमी बुलेटिनमा हामीले सतर्कता अपनाउन आग्रह गरिरहेका हुन्छौं।’
उनले चट्याङबाट बच्नका लागि विद्युतीय सामग्रीको प्रयोग नगर्न र घरबाहिर ननिस्कन आग्रह गरिन्। विशेष गरी वर्षाको समयमा चट्याङ धेरै पर्ने गरेको छ। बङ्गालको खाडी नजिक रहेका नेपालका भू–भागमा चट्याङको जोखिम सबैभन्दा बढी रहेको छ।