काठमाडौंः क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन्।
हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ।
गत १४ भदौमा उनीहरुले क्यानडा बस्दै आएका आशिष आचार्यलाई पक्राउ गरेका थिए।
क्रिप्टो कारोबारका आरोपमा थुनामा परेका युवाका आफन्तसँग रकम लेनदेनमा प्रहरी सहायक हवल्दार र एक जवानको भूमिका शंकास्पद भएको निष्कर्ष निकाल्दै छानबिन समितिले प्रतिवेदन बुझाएको थियाे।
उपत्यका प्रहरी कार्यालयले क्रिप्टो कारोबारमा सोधपुछका लागि थुनामा राखेका युवा आशिष आचार्यको आफन्तबाट ५० लाख रुपैयाँ लिएर छाडेको घटनाको अनुसन्धान गर्न समिति बनाएको थियो।
कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार, छानबिनका क्रममा परिसरको प्रविधि अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक हवल्दार गणेश खड्का र जवान साजन शर्माको भूमिका शंकास्पद रहेको खुलेको छ।