काठमाडौंः भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको क्रूर हत्या प्रकरणमा प्रहरीले केही नयाँ तथ्यहरू प्राप्त गरेको छ। आपसी विश्वासको कमीका कारण मुक्तिरञ्जन रायले रिसाएर यो कदम चालेको बेङ्लुरु प्रहरीले जनाएको छ। ३० वर्षीय मुक्तिरञ्जनले बुधबार ओडिसाको भद्रक जिल्लामा रहेको आफ्नो गाउँनजिकै आत्महत्या गरेका थिए।
२९ वर्षीया महालक्ष्मीसँग उनको छ महिना लामो प्रेम सम्बन्ध थियो। तर, महालक्ष्मीले तुरुन्तै विवाह गर्न दबाब दिएपछि उनी तनावमा आएका थिए। महालक्ष्मीको हत्यापछि मुक्तिरञ्जनले आफ्ना भाइलाई फोन गरेर हत्याबारे जानकारी दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार महालक्ष्मीका प्रेमी मुक्तिरञ्जनले हत्या गरी उनको शव ५९ टुक्रा पारी आफ्नै फ्ल्याटको फ्रिजमा राखेका थिए। महालक्ष्मीको हत्याको घटना गत शनिबार तीनतल्ले भवनका मालिकले उनकी आमा र बहिनीलाई फ्ल्याटबाट दुर्गन्ध आएको जानकारी दिएपछि बाहिर आएको थियो। भवनको पहिलो तल्लामा महालक्ष्मी बस्दै आएकी थिइन्। श्रीमान् हेमन्त दाससँग छुट्टिएपछि उनी एक्लै बस्दै आएकी थिइन्। उनकी छोरी बुबासँग बस्दै आएकी थिइन्।
दुर्गन्धको खबरपछि महालक्ष्मीकी आमा र बहिनी पुगे। फ्ल्याटमा प्रवेश गर्नेबित्तिकै उनीहरूले फ्रिजनजिकै रगतका दागहरू र फ्रिजमा कीराहरू देखे। उनीहरूले फ्रिज खोल्दा महालक्ष्मीको शवका टुक्रा देखे। त्यसपछि दुवै जना चिच्याउँदै बाहिर आए। प्रहरी अनुसन्धानमा लागेपछि महालक्ष्मीका पति हेमन्त दास पनि घटनास्थल पुगेका थिए।
उनले सेप्टेम्बर २०२३ मा असरफ नामका युवकसँग अफेयर’ भएका कारण महालक्ष्मी र आफू अलग भएको बयान दिए। नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले पनि असरफ र महालक्ष्मी सम्बन्धमा रहेको र केही समयअघि मात्रै छुट्टिएकोु पुष्टि भएको जानकारी दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। उनका अनुसार असरफलाई पनि यस घटनाबारे सोधपुछ गरिएको छ र उनको गतिविधिमा पनि निगरानी राखिएको छ।
प्रहरीले यस घटनाका सम्बन्धमा मुख्य अभियुक्त मुक्तिरञ्जन रायको खोजी गरिरहेको थियो। प्रहरी स्रोतका अनुसार महालक्ष्मीको जीवनमा उनका पहिलेका श्रीमान्बाहेक अर्का पुरुष पनि रहेको र त्यसपछि पनि आफूलाई विवाहका लागि दबाब दिएको भन्दै मुक्तिरञ्जन रिसाएका थिए। उनले यो कुरा आफ्ना भाइसँग भनेको प्रहरीको दाबी छ। यही दबाबका कारण उनीहरूबीच बारम्बार झगडा हुन थालको थियो र एकपटक मल्लेश्वरम प्रहरी चौकीसम्म पनि उनीहरू विवाद मिलाउन जाँदा प्रहरीले सम्झाइबुझाइ गरेर पठाएको थियो।