काठमाडौंः मनसुन सक्रिय भएसँगै १०६ वटा वर्षा मापन केन्द्रमा वर्षाले सतर्कताको तह पार गरेको छ।
सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा भएको छ । अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा मापन भएको छ।
अर्चलेपछि धेरै मकवानपुरको दामनमा ३३० मिलिमिटर वर्षा भएको छ। यसैगरी झापाको चन्द्रगढीमा ३०६ मिलिमिटर वर्षा भएको छ।
चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा भारी वर्षा भन्ने गरिन्छ । १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ।
अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा भारीदेखि धेरै भारीदेखि अति भारी वर्षा भएको छ। भारीदेखि धेरै भारी वर्षा भएमा त्यो क्षेत्रलाई जोखिमयुक्त मानिन्छ । आज शनिबार पनि निरन्तर झरी पर्ने सम्भावना भएकाले जोखिम अझै बढ्ने सम्भावना छ।
अत्यधिक वर्षाले देशभर नै जनजीवन अस्तव्यस्त भएको छ। बस्तीहरु डुबानमा परेका छन् भने सडक र पुलमा क्षति पुगेको छ।