मार्तडीः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमाले एक भएको बताएका छन्। प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, “पञ्चायत व्यवस्था ढाल्न होस् वा २०७२ सालको संविधान ल्याउन, ती सबै आन्दोलनमा कांग्रेस र एमाले सधैँ एक ठाउँमा उभिएर देशको स्थायित्व जोगाउन बल पुगेको हो ।” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व जोगाउन नसकेको र राजनीतिक सहमतिमा बेइमानी गर्दा देशका दुई ठुला दल एक भएर देशलाई निकास दिन खोजेको पनि उपमहासचिव ज्ञवालीले बताए।
वर्तमान सरकारले संविधान जारी भएको नौ वर्षको समीक्षा गर्ने, कार्यान्वयनको अवस्था, उपलब्धि, कमीकमजोरी र यसबाट प्राप्त शिक्षा र अनुभवबाट राजनीतिक स्थायित्वलाई बल पुग्ने उनले विश्वास व्यक्त गरे। उनले राजनीतिक स्थायित्वका निम्ति संविधान संशोधन गरिने पनि बताए।