धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव विनय शाहले पार्टी तथा पार्टीका जनसंठनमा गुटबन्दी निर्मुल पार्नुपर्ने बताएका छन्। कैलालीको टीकापुरस्थित सिटी हलमा जारी राष्ट्रिय युवा संघ नेपालको १० औं जिल्ला अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले पार्टी निर्माणका लागि पार्टी र पार्टीका संगठनमा हुने गुटबन्दीलाई निस्तेज गर्नुपर्ने बताउँदै त्यसको अगुवाइ पार्टीकै मूल नेतृत्वले गर्नुपर्ने जनाए। पछिल्लोसमय पार्टीका विभिन्न तहमा र संगठनहरुमा गुटबन्दीको विकास गर्ने प्रयत्न भैरहेको उनको दाबी छ।
यहीँ विषयलाई लिएर एमालेका युवा नेतासमेत रहेका शाहले पार्टीका कुनै पनि नेताले गुटबन्दी गर्ने कार्य गरेमा आफूहरु प्रतिकारमा उत्रिने जनाए। उनले राष्ट्रिय युवा संघ नेपाल सदैव गुटबन्दीका खिलापमा रहेको पनि दाबी गरे।
आज (आइतबार) टीकापुरमा नेकपा एमाले नेता, पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आथित्यतामा अधिवेशन सुरु भएकोमा अहिले पनि जारी छ। नयाँ नेतृत्व चयन गर्नका लागि गरिएको अधिवेशनमा अध्यक्षका लागि मात्रै ५ जना भन्दा बढीले इच्छा व्यक्त गरेको बताइएको छ।