धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले तेस्रो डान उपाधि पाएका छन्। नेपाल कराँते महासङ्घका संस्थापक अध्यक्ष तथा नेपाल सितोरियो सङ्घका अध्यक्ष दावा गुरुङले मन्त्री चौधरीलाई तेस्रो डान उपाधि प्रदान गरेका हुन्।
धनगढीमा मङ्गलवार प्रमाणपत्र, कराँते पोशाक र ब्ल्याक बेल्ट तेस्रो डानको उपाधिसहित उनलाई सम्मान गरिएको थियो। चौधरी कराँतेको पूर्वखेलाडी हुन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनले एउटै डोजोमा लामो समय कराँते प्रशिक्षण गरेका थिए। विद्यार्थी कालदेखि नै खेलकुदमा सक्रिय उनी सितोरियो कराँतेका पहिलो डान हुन्।
एथलेटिक्समा पनि राष्ट्रियस्तरसम्म पुगेका उनी अन्य खेलकुदमा पनि त्यतिकै सक्रिय र सफल थिए।
२०६५ सालदेखि मिर्गौलामा समस्या आएपछि उनी सक्रिय खेलकुदमा देखिन छोडेका थिए।
धनगढीमा हिजो खेलकुद अवार्ड २०८१ तथा सुदूरपश्चिम प्रदेश कराँते रेफ्री सेमिनार गरिएको थियो। कैलाली जिल्ला खेलकुद समिति र सुदूरपश्चिम प्रदेश कराँते महासंघले संयुक्त रुपमा मंगलबार धनगढीको कर्भडहलमा खेलाडी सम्मान कार्यक्रम गरेका थिए।
कार्यक्रममा हालै चीनमा भएको एसियाली खेलकुदमा महिला कुमिते ६८ केजीभन्दा माथिको तौल समूहमा रजत जित्न सफल नेपाली कराँते खेलाडी एरिका गुरुङलगायतलाई सम्मान गरिएको हो।