धनगढीः त्रिनगर–गौरीफन्टा नाकामा ठाउँठाउँमा चेकिङ हुँदा सास्ती भएको गुनासो आउन थालेको छ। भारतको महाराष्ट्रबाट आएका डोटी सिलगढीका तीर्थ पञ्जेडाले ठाउँठाउँमा भइरहेको चेकजाँचले सास्ती दिइरहेको बताए। उनले पाँच सय मिटरको त्रिनगर भन्सार क्षेत्रमा सातपटक जाँचमा परेको बताए । ‘बारम्बार झोलीझिम्टा खोलेर देखाउँदा सास्ती भइरहेको छ,’ उनले भने, ‘एकपटक नेपाल र एकपटक भारतीय पक्षबाट कडाईका साथ जाँच गरिए हामीलाई निकै सहज हुने थियो ।’
भारतको पुनाबाट फर्किरहेका डडेल्धुरा बगरकोटका भोजबहादुर ठकुराठीको गुनासो पनि पञ्जेडाको जस्तै थियो । ‘ठाउँठाउँमा भइरहेको जाँचले नाका पार गर्नै हामीलाई एक घण्टा समय लागिरहेको छ,’ उनले भने, ‘ठाउँठाउँमा झोलीझिम्टा खोल्न लगाइएको छ । चाडपर्वको समयमा आवागमनमा सहजता होला भन्ने विश्वास थियो । तर, अहिले पनि निकै सास्ती छ ।’
त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले जाँच गर्दै आएको छ ।
यता सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयका अनुसार सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमामा ठाउँठाउँमा चेक पोष्ट राखिएको हो । ‘सशस्त्रले त्रिनगर भन्सारको पुल पारि अर्थात् सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुल वारी गरी तीन ठाउँमा पोस्ट राखेको छ,’ उनले भने, ‘पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो । त्यहाँ प्रतिबन्ध लगाइएका बस्तुको आयात रोक्न चेकजाँच हुन्छ । मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ । पुलवारीको पोष्टले भने भन्सार सुरक्षाको काम गर्छ । जहाँ भन्सार छलीका सामानको आयात रोक्ने काम हुँदै आएको छ ।’
त्रिनगर नाकामा आवागमनलाई सहज बनाउनका लागि हेल्प डेस्क पनि राखिएको छ । नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ भने सशस्त्र प्रहरीले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । ‘त्रिनगर सीमा इलाकाभित्र कुनै किसिमको समस्या भए समाधानका लागि हाम्रो साथ सदैव रहनेछ,’ नागरिक सहायता कक्षमा लेखिएको छ । तर, नागरिक सहायता कक्षमा भने गुनासो गर्नेको संख्या न्यून रहेको त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले बताएका छन् । दसैं सुरु भएसंगै अहिले त्रिनगर सीमा नाकाबाट नेपाल फर्किनेको घुइचो लाग्ने गरेको छ । दैनिक रुपमा एक हजारका हाराहारीमा नेपालीहरु स्वदेश फर्किरहेका छन् ।