धनगढीः नेकपा एमालेका सचिव लेखराज भट्टले एक अन्तर्वार्तामा आफूबारे भ्रमपूर्ण कुरा गरेको भन्दै एमाले नेता भीम रावलले त्यसको खण्डन गरेका छन्। एमालेको मुलधारबाट बाहिर रहेका नेता रावलसँग कुरा गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र नेता कर्ण थापालाई जिम्मेवारी दिएपछि सो टोली र रावलबीच भएको कुरालाई लिएर अहिले रावल र भट्टले फरक फरक दाबी गरेका छन्।
एमालेले बनाएको टोलीसँगको २ घण्टाको कुराकानीमा आफूले त्यहाँ आएका नेताहरूसँग व्यक्तिगत केही कुरा नभएको र केही विधिगत, वैचारिक कुरा भएकाले अध्यक्षसँगै कुरा गर्ने बताएको तर अहिले भट्टले भने ‘तपाईंहरूसँग केही छैन, मेरो कुरा अध्यक्षसँग हो’ भनेको भनी भ्रम सिर्जना गरेको रावलको भनाइ छ।
एमालेको चितवन महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरी पराजित भएका नेता रावल त्यसयता एमालेमा सक्रिय छैनन्।