काठमाडौँः नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन्।
अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्यले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेकी छन्।
त्यस्ता क्रियाकलाप गर्ने जो कोही पार्टीको इमानदार सदस्य नहुने स्पष्ट गर्दै अध्यक्ष श्रेष्ठले अनुशासन आयोगमार्फत त्यस्तामाथि कारबाही हुने चेतावनी दिएकी छन्। अब उप्रान्त त्यस्ता गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले पार्टीका सदस्यहरूलाई आ–आफ्नो विचार पार्टीको बैठकमा राख्ने पूर्ण स्वतन्त्रता भएको र पार्टीको शुद्धीकरण प्रक्रिया अगाडि बढिसकेको सर्कुलरमा उल्लेख गरेकी छन्।
तर यो सर्कुलरमा पुरानो मिति उल्लेख गरेर हालै जारी गरेको सो पार्टीका कतिपय नेताको आरोप छ। फेसबुकमा लेखेकै कारण पार्टीका एक जना नेता थुनामा परेपछि पुरानो मिति राखेर सर्कुलर जारी गरेको नेताहरूको आरोप छ।
सुदूरपश्चिममा पार्टीबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरीका स्वकीय सचिव नवीन थापाको बारेमा फेसबुकमा लेखेकै कारण पार्टीका नेता रमित ओली थुनामा परेका थिए।
कैलाली–कञ्चनपुरमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेताहरूले नवीन थापा पार्टीको सदस्य नभएको, उनी पछि पार्टीमा प्रवेश गरेपछि मन्त्रीको स्वकीय सचिव बनाइएको दाबी गर्दै आइरहेका छन्। त्यही कुरा रमित चौधरीले आफ्नो फेसबुकमा लेखेपछि थापाले साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा रमितलाई प्रहरीले असोज ११ गते पक्राउ गरेका थियो। पाँच दिन थुनामा राखेर धरौटी लिएर छाडेपछि रञ्ञिता श्रेष्ठले असोज ८ गतेको मिति राखेर त्यस्तो सर्कुलर जारी गरेको नागरिक उन्मुक्ति पार्टीका नेता निम चौधरीको दाबी छ।
रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पतीले पार्टीलाई निजी कम्पनीजस्तो चलाएको आरोप पार्टीका नेताहरूले लगाएका छन्।