कञ्चनपुरः कञ्चनपुरमा थारू समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ। यहाँ थारू समुदायका युवकयुवती रातको समयमा बडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन्।
मादलको तालमा कम्मर मर्काउँदै थारू युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारूलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन्। युवाले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन्। स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए। थारू समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरिन्छ।
जोनापुर गाउँका थारू बडघर सुरेश चौधरीका अनुसार पहिला फुर्सद हुने भएकाले कृष्ण जन्माष्टमीका दिनदेखि दसैँको टीकासम्म एक महिनासम्म नाच देखाइन्थ्यो। हाल सबै जना आआफ्नो कार्यमा व्यस्त हुने भएकाले यो नृत्य पाँचदेखि सात दिनसम्म मात्र देखाउने गरिन्छ।
नृत्यमा सहभागी युवतीले भगवान् श्रीकृष्णको गाथासहितको गीत मौलिक तरिकाले गाउने गर्छन्। गाउँका भद्रभलादमी, बडघर, गुरुवा, केसौका लगायतको बैठक बसी सखिया नाचको व्यवस्थापन गर्ने गरिन्छ। थारू अगुवा चेतराज चौधरीका अनुसार गुरुवाले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवकयुवतीलाई दुष्टात्माको भवितव्यबाट जोगाउनका लागि पूजापाठ गरेपछि मात्रै नृत्यको आयोजना गरिन्छ। यस नाचमा मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी र अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिन्छ।
नृत्यसँगै गीत गाउने युवतीको अगुवाइ गर्ने मोहिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भनिन्छ। स्थानीय दानसिंह दहितका अनुसार नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले सामूहिक रूपमा नृत्य पस्कने गर्छन्। जसलाई थारू भाषामा खोट पैँया भन्ने गरिन्छ। पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिवर्तन ल्याएकाले यो बढी पनि हुने गरेको छ। यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ। सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने पौराणिक नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ।
पञ्चमीको दिनअघि सादा पोसाकमा यस नृत्यलाई पस्किने र पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती तथा कमिज लगाउने गर्छन् भने नृत्य गर्ने युवतीले रङ्गीबिरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोला, अगिया, सेतो फरिया र गोन्या लगाउने गर्छन्। मादलको तालसँगै महिलाले हातमा मैजरी लिएर बजाउने गर्छन्। अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई अन्य समय दिउँसो नाच्ने गरिन्छ।