धनगढी: सुदूरपश्चिमका चाडपर्व (दसैं तिहार) नजिकिएसँगै जुवा पनि ह्वात्तै बढेको पाइएको छ। प्रहरीको रिपोर्ट अनुसार केही दिन यता सुदूरपश्चिमका विभिन्न जिल्लामा जुवाखालहरु बढेका छन् भने जुवाडेहरु सक्रिय भएका छन्।
उनीहरूलाई समात्न सुदूरपश्चिम प्रदेश प्रहरीले निर्मम भएर लाग्न पनि भनेको छ। तर यसपालि कैलाली तथा कञ्चनपुरमा अधिक जुवा भैरहेको बताइएको छ।
यी दुई जिल्लामा प्रतिष्ठित होटलहरु, रेस्टुरेन्टहरु तथा जंगलमा समेत जुवा हुने गरेका छन्। प्रहरीले पछिल्लो समय जंगल, जुवाडेकै घर तथा होटलबाट जुवाडेहरुलाई समातिरहेको छ।
स्रोतका अनुसार दुई जिल्लाका ठूला होटल, राष्ट्र बैंककै गेष्ट हाउससहित प्रहरी तथा सशस्त्रकै ब्यारेकभित्र समेत जुवा भैरहेका छन्। यस अगाडिका वर्षहरुमा पनि यसैगरी सेटिङमा जुवा हुने गर्दथ्यो।
अहिले ठूला जुवा समात्न प्रहरी लागि परेको स्रोतले जनाएको छ। अस्तिमात्र वडा प्रहरी कार्यालयको टोलीले झण्डै २ लाखको जुवा समातेको थियो।
त्यसपछि बुधबारमात्रै कैलालीको धनगढीबाट १२ जुवाडे पक्राउ परेका छन्।
बुधवार धनगढी उपमहानगरपालिका–५ लव्ली चोकमा मैते डगौरा थारुले संचालन गरेको सौरभ एण्ड सौगात नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक डगौरासहित १२ जना जुवाडे पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ४३ वर्षीय जागुराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी, ३२ वर्षीय कृष्णदेब चौधरी, ३३ वर्षीय हिरालाल चौधरी, ४७ वर्षीय सुरेश चौधरी, २३ वर्षीय शिबु चौधरी, २४ वर्षीय सुरेश चौधरी, ३० वर्षीय हरि चौधरी, ३५ वर्षीय स्यामु चौधरी, २६ वर्षीय दिपक चौधरी, २३ वर्षीय रमेश चौधरी, ४२ वर्षीय मैते डगौरा थारू (होटेल संचालक) रहेका छन्।
यिनीहरु सबैजना धनगढी उपमहानगरपालिका–५ का बासिन्दा हुन्।
उनीहरुको साथबाट ५७ हजार १६५ रुपैयाँ र २ गड्डी तास बरामद गरिएको थियो। त्यस्तै उता कञ्चनपुरमा पनि ४ जना जुवाडे पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–१८ गोबरैयामा दिपेन्द्र चन्दले संचालन गरेको प्रयास रेष्टुरेन्टको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–१८ बस्ने २२ वर्षीय सम्राट चन्दसहित ४ जना जुवाडे मंगलवार पक्राउ परेका हुन्।
उनीहरुलाई १२ हजार ८३० नगद र १ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानाएको छ।
त्यस अगाडि कैलालीको लम्की, जानकी गाउँपालिका तथा अत्तरिया क्षेत्रमा पनि जुवाडेहरु समातिएका थिए। जसमा शिक्षकदेखि पूर्व आर्मी तथा सशस्त्रका कर्मचारी पनि परेका थिए।
र, यो पनि: धनगढी जुवा प्रकरण: फौजी टिममा मास्टरसम्म [नामसहित]
कञ्चनपुरमा जुवा खालबाट ९ जना पक्राउ, ८१ हजार बढी नगद बरामद
कञ्चनपुरमा लेडी इन्सपेक्टर जुवाडे छोड्ने, कैलालीमा नियमै तोड्ने