काठमाडौं: ‘हनी ट्रयापिङ’ मा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर बिनुकुमारी शाहीलाई अझै पक्राउ गरिएको छैन। दसैं अगाडि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भएपनि शाही अझै पक्राउ परेकी छैनन्।
जबकी प्रहरीले पुर्जी जारी भएपछि खोजी भैरहेको भन्दै फरार भनेकी उनै इन्सपेक्टर शाही सोसल मिडियामा भने खुलेआम एक्टिभ देखिन्छिन्। उनले केही दिन अगाडिमात्रै महेन्द्रनगरपोष्ट डटकमका सम्पादक टेकसिंह धामीलाई फेसबुक स्टाटसमा धम्कीपूर्ण प्रतिक्रिया दिएकी थिइन्।
इन्सपेक्टर फरार रहेको घटनासम्बन्धी लेखिएको स्टाटसमा शाहीले आफू फरार नभएको जनाएकी थिइन्। तर केही समयपछि भने उनले त्यो प्रतिक्रिया हटाइन्। उनको त्यो प्रतिक्रियाले भने उनी आफैं फरार नभएर फरार बनाइएको देखिन्छ।
तर उता प्रहरी प्रधान कार्यालय नक्सालले भने उनी पक्राउ पर्ने र कारबाहीको दायरामा आउने जनाउँदै आएको छ।
यस्तै उनलाई फरार बनाइएको आरोप लागेकै बेला इन्सपेक्टर शाहीलाई जोगाउन नेपाल प्रहरीकै एसपी कमल थापा लागिपरेको स्रोतले जनाएको छ।
अख्तियारको कार्यालय टङ्गालमा कार्यरत रहेका एसपी थापाले इन्सपेक्टर शाहीविरुद्ध पुर्जी जारी भएपछि आफूलाई प्रधानमन्त्रीको मान्छे हुँ भन्दै जोगाउन लागिपरेको बुझिएको छ।
सो क्रममा उनी आफैं बिदा बसेर शक्ति केन्द्रमार्फत शाहीलाई जोगाउन लागिपरेका हुन्। यसैक्रममा एसपी थापा र शाही मिलेर हेडक्वाटरको अर्को छानबिन समिति पनि बनाइएको छ।
तत्कालीन समयमा ललितपुर प्रहरीले छानबिन समिति बनाएर कारबाही सिफारिस गरेपछि शाहीले गृहमन्त्रीलाई निवेदन हालेर अर्को समिति बनाउन लगाइएको खुलेको हो।
यद्यपि सो समिति अहिले निष्क्रियजस्तै देखिन्छ। तर उता प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने छानबिन जारी नै रहेको जनाएका छन्। उनले अहिले पनि सो विषयमा आन्तरिक छानबिन जारी रहेको महेन्द्रनगरपोष्टलाई बताए।
उसो त एसपी थापा पनि इन्सपेक्टर शाही जोडिएको यो विषयमा संकास्पद व्यक्ति हुन्। स्रोतका अनुसार शाहीलाई कारबाही सिफारिस गर्ने ललितपुर प्रहरीको समितिले एसपी थापालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने औल्याएको छ। त्यसका लागि सो समितिले थप छानबिन गरिनुपर्ने कुरा उल्लेख गरेको स्रोत बताउँछ।
एसपी कमल थापा उनै प्रहरी अधिकारी हुन्, जो तिनै इन्सपेक्टर शाहीको पहिलो पोष्टिङ सुदूरपश्चिमस्थित कञ्चनपुर जिल्लामा हुँदा उनका हाकिम थिए।
उनले हाकिम रहेका बेला शाहीलाई मुद्दा शाखाको जिम्मेवारी दिनेदेखि अनेकन बखेडामा शाहीलाई जोगाए। त्यसपछि एसपी थापा सरुवा भएर अख्तियार पुगेका थिए भने शाही ललितपुरको भैसेपाटी प्रहरी प्रभागको इन्चार्ज बन्न पुगेकी थिइन्।
उनी त्यतै इन्चार्ज रहेकै बेला एसपी थापासमेत अप्रत्यक्ष रुपमा जोडिएर इन्सपेक्टर शाहीले हनि ट्रयापिङको धन्दावालासँग हात मिलाएर आर्थिक लाभ लिएको विषय सार्वजनिक भएको हो।
सो विषय सार्वजनिक भएलगत्तै ललितपुर प्रहरीले छानबिन थालेकोमा उनलाई केही समयपछि जिम्मेवारी मुक्त गर्दै निलम्बित पनि गरियो। हाल उनै निलम्बित इन्सपेक्टर शाही फरार छिन्।
ललितपुर प्रहरीले अहिले भने इन्सपेक्टर शाहीलाई संगठित शैलीमा अपराध गरेर व्यापारीलाई थुनामा राखी पैसा असुल गरिएको अनुसन्धानमा देखिएपछि आपराधिक लाभसँगै संगठित अपराध मुद्दा पनि चलाइएको जनाएको छ।
यस अगाडि जिल्ला प्रहरी परिसर, ललितपुरले शाहीका सहयोगी गाडी चालक प्रहरी सहायक हवलदार महेन्द्र हमालसहित अन्य हनि ट्रयापिङ घटनामा संलग्न चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।
जसमा इटहरीका ताज इस्लाम नेतृत्वको समूह छ। उनीहरूले इन्सपेक्टर शाहीसँग मिलेर असोज ६ गते एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै एक दिन थुनामा राखेर ३० लाख रुपैयाँ असुल गरी छाडेका थिए।
सो गिरोह पेसेवर देखिएको, घटना योजनाबद्ध भएको र तीन जना भन्दा धेरै व्यक्तिको संलग्नता देखिएपछि ललितपुर प्रहरीले संगठित अपराध कसुरमा पनि अनुसन्धान गरिरहेको हो।
संगठित अपराधमा प्रहरीले आरोपीलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ भने सजाय पनि ५० प्रतिशत थप हुन्छ। आपराधिक लाभ मात्र मुद्दा दायर भएमा २४ दिनमै मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ।
यसैक्रममा प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो दिएको छैन। स्रोतका अनुसार प्रहरीको माथिल्लो निकायबाटै उनलाई तत्काल पक्राउ नगर्न भनेर दबाब दिइएको छ। फरार अवस्थामै उनले चलखेल गरिरहेकी छिन्। फरार अवस्थामै उनी पत्रकार तथा पीडित लगायतलाई धम्काउने गतिविधिमा पनि सक्रिय छिन्।
यसअघि छानबिन र निलम्बन रोक्न समेत अनेक प्रयास गरेकी थिइन्। तर, पक्राउ परेका अभियुक्तहरू ताज इस्लाम र सुष्मा विकले नै उनको सबै पोल खोलिदिएका छन् ।
इन्सपेक्टरसँगको सल्लाहमै त्यसरी झगडाको उजुरी दिन लगाएर थुनामा राखी पैसा असुलिएको उनीहरुको बयान छ। प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख हुँदा शाहीले यस्तो धन्दा चलाएकी थिइन्।
इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएकी छिन्। सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरू थिए।
त्यो कुरा लुकाउन उनले मोबाइल गायब बनाइएकी हुन्। हाल अख्तियारमा कार्यरत रहेका एसपी थापा घटनाको दिन मुख्य आरोपी ताजसँग बसेका थिए। एसपी थापा र ताजबिच एयरपोर्टको एक रेस्टुरेन्टमा भेट भएको थियो। साथै ताज र इन्स्पेक्टर शाहीबिच समेत उनले नै चिनजान गराइदिएर ती व्यापारीलाई थुन्न लगाएको छानबिनमा खुलेको छ।
ताजको मोबाइल नै गायब बनाइएकाले एसपीसँगको उनको सम्बन्धबारे विस्तृत खुल्न सकेको छैन।
एसपी थापा तत्कालीन समयमा सुनसरीको प्रहरी प्रमुखका रूपमा हुँदा ताजसँग नजिकिएका थिए। सोही समूहको हनी ट्र्यापिङको अर्को घटनामा पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म प्रहरीले शाहीबाहेक सहायक हवल्दार हमालसँगै समूहका नाइके इटहरीका ताज इस्लाम, युवती सुस्मा विक र भीमादेवी थापालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।
यस्तै शैलीमा उक्त समूहले अरू व्यवसायीबाट समेत मोटो रकम असुल गरेको प्रहरीको दाबी छ।
ताज र दर्शनको समूहले इटहरीमा केही युवतीलाई अवैध यौनधन्दामा लगाउने र पछि उनीहरूलाई नै प्रयोग गरेर बलात्कारको उजुरी दिने भन्दै विभिन्न व्यक्तिबाट मोटो रकम असुल गर्ने गरेको खुलेको छ।
र, यो पनि: पक्राउ पुर्जी जारी भएपछि निलम्बित इन्सपेक्टर फरार, घरै पठाइयो प्रहरी
एसपी थापाले बिगारेकी ‘बदनाम’ इन्सपेक्टर बिनुकुमारी