धनगढी: सुदूरपश्चिम स्थाई घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षामा उत्तीर्ण भएका ९ जनाले यसपाली पनि छात्रबृत्तीमा एमविविएस अध्ययन गर्न पाउने भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कार्तिकको १३ गतेभीत्र आवेदन आह्वान गरेको छ। राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सामाजिक विकास मन्त्रालयले आवदेश आह्वान गरेको हो।
यस छात्रबृत्तीका लागि सुदूरपश्चिमका ९ जिल्लाका स्थाई बासिन्दाले मात्र आवेदन गर्न पाउने प्रावधान छ। सुदूरपश्चिमका अस्पतालहरुमा चिकित्सकहरु आउन नमान्ने र सधैं जसो चिकित्सकको अभाव हुने भएकाले प्रदेश सरकारले २०७६ साल देखि हरेक वर्ष ९ जनालाई एमविविएसमा छात्रबृत्ती दिदै आएको छ।
यसै वर्षदेखि ३ जनालाई एमडि अध्ययनका लागि पनि छात्रबृत्ती दिन लागिएको सामाजिक विकास मन्त्री मेघराज खडकाले बताए। ‘प्रदेश सरकारको छात्रबृत्तीमा अध्ययन गरेका चिकित्सकहरुले सुदूरपश्चिमका कुनै पनि अस्पतालमा २ वर्ष सेवा गर्नुपर्ने सर्तनामा गर्नुपर्छ, सर्त उलंघन गरे छात्रबृत्तीको दोब्बर रकम असुल उपर हुने प्रावधान छ’ मन्त्री खडकाले भने।