काठमाडौं: सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई–चलान) दिन थालेको छ। गृहमन्त्री रमेश लेखकले उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टिभिआरएस) र ई–चलानको शुभारम्भ गरे।
उनले ई–चलानको प्रयोग सम्बन्धमा स्थलगत अवलोकन समेत गरे। सो प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रुपमा सेवा प्रदान गर्ने गृहमन्त्री लेखकको विश्वास छ। उनले प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनका लागि शुभकामना समेत व्यक्त गरे।
सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउन र सुशासन स्थापना गर्ने कार्यमा सरकार अघि बढेको पनि उनले बताए। गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी रहेको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई थप संयमित एवम् इमान्दार भएर सेवा प्रवाहमा अग्रसर हुन पनि निर्देशन दिए।
पछिल्लो समय सवारी दुर्घटना चूनौतीको रुपमा देखिरहेकाले यसको न्यूनीकरण, ट्राफिक नियमको पालनालगायत विषयमा अझ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत उनले जोड दिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सडक सुरक्षा एंव ट्राफिक व्यवस्थापनकै लागि प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदशी र गुनासोरहित ढंगले सेवा प्रवाह प्रवद्र्धन गर्ने हेतुले डिजिटल चिटको शुभारम्भ गरिएको बताए।
उनले त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहने पनि उल्लेख गरे। साथै, आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रहरीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि निरन्तर काम गर्दै आएको आईजीपी कुँवरले जनाए।
कार्यक्रममा टिभीआरएस प्रणालीको विकासक्रम, ई–चलान कार्यान्वयनको अवस्था, कारबाहीको प्रक्रिया र अन्य नागरिकमैत्री एप्लिकेसनलगायत विषयमा पनि प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, बागमती प्रदेशको यातायातमन्त्री प्रेमभक्त महर्जन, गृहसचिव गोकर्णमणि दुवाडीलगायत सहभागी थिए।