काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ।
पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।
सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न डीएसपी तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले बताए। उनले भने, ‘दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन्, अनुसन्धानमा सहजीकरण गर्न अहिले डीएसपीलाई पठाइएको छ।’
असोज ६ मा पूर्वडीआईज छविलाल जोशीलाई पक्राउ गरेपछि पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टरको नेतृत्वमा दुईजनालाई पोखरा पठाएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले रवि लामिछानेलाई अदालत परिसरमा बोल्न दिएपछि उनको व्यवसायिकताबारे प्रश्न उठेको छ।
सुर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर जोशी र लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ।