डडेलधुरा: भारतसँग सीमा जोडिएको डडेल्धुराको महाकाली नदीमा पुल नहुँदा स्थानीयवासी समस्या मोल्दै ट्युबमा वारपार गर्दै आएका छन्। भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न काली नदीमा पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी डुङ्गाबाट वारपार गर्दै आएका थिए तर अहिले डुङ्गा पनि नचल्दा ट्युबबाट वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय राम धामीले बताए।
यस वर्ष डुङ्गा सञ्चालन गर्न ठेक्का लगाउन नसकिएको परशुराम नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष खगेन्द्र सिंहले जानकारी दिए। डुङ्गा सञ्चालन हुन नसक्दा नेपालीको महान् पर्व दसैँका बेला घर फर्किने स्थानीयलाई निकै सास्ती भएको स्थानीय महावीर चुनाराले गुनासो गरे। ट्युबबाट जोखिम मोलेर नदी तर्दा एक जनाको दुई सय रुपियाँ तिर्नु परेको उनको भनाइ छ।
जिल्लाको झन्डै आधा जनसङ्ख्या रहेको भित्री मधेश क्षेत्रका स्थानीय दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत भारतीय बजार ठुलीगाड, बुम, टनकपुर, वनवासासम्म पुग्ने गर्छन्। कृषि उपजले भारतीय बजारमा राम्रो मूल्य पाउँछ भने उपभोग्य वस्तु सुपथ मूल्यमा खरिद गर्न पाइन्छ । यस कारण परशुराम नगरपालिका–५, ६ र ७ का स्थानीय भारतीय बजार आउजाउ गर्ने गर्छन्।