काठमाडाैं: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नभई सरोकारवाला निकायहरुको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफल प्राप्त हुने बताएका छन्।
२०८१ कार्तिक ७ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाईवे ट्रमा सेन्टरमा नागढुंङ्गा–मुग्लिङ्ग सडक खण्डमा अवस्थित अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी संचालन गरिएको बेसिक लाइफ सपोर्ट एण्ड प्राइमरी ट्रमा केयर तालिम समापन कार्यक्रममा सो कुरा बताएका हुन्।
महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितीलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताउनु हुँदै विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भूकम्प, बाढी पहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौ नागरिकहरुको जीवन रक्षा गरेको समेत उल्लेख गरे।
पोस्ट रेस्पोन्स एण्ड केयर अन्तर्गत पाईलट प्रोजेक्टको रुपमा नागढुंङ्गा नौविसे मुग्लिङ्ग सडक खण्डमा हुने दुर्घटनाका घाईतेहरुलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्य अनुरुप नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ गते पोस्ट क्र्यास रेस्पोन्स एण्ड केयर सर्भिस मोडल सम्झौता भएको थियो।
महानिरीक्षक अर्यालले सोही सम्झौता अनुरुप सशस्त्र प्रहरी कर्मचारीहरुलाई रोड ट्राफिक क्र्यास रेस्क्यु तालिम प्रदान, भेकल एक्स्ट्रेसन एक्वीपमेन्टको प्राप्ती, कमान्ड सेन्टरको स्थापना र सेवाको सुरुवात, सडक दुर्घटना सचेतना सम्बन्धी होर्डिङ्ग बोर्ड राख्ने तथा पर्चाहरुको वितरण जस्ता कार्यहरु सम्पन्न भईसकेको बताउदै पृथ्वी हाईवे ट्रमा सेन्टरको स्तरोन्नति गरी थप सुविधा सम्पन्न बनाउनको लागि आवश्यक मेडिकल उपकरणहरुको उपलब्धताको लागि पहल गरिसकिएको समेत बताए।
महानिरीक्षक अर्यालले ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरुमा भोलिन्टियरहरु उत्पादन गरी आम नागरिकहरुमा जनचेतना फैलाउने उद्देश्यकासाथ औपचारिक रुपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नै २०८१ भाद्र १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिमहरु संचालन गरिएको तथा देशका विभिन्न स्थानहरुमा हालसम्म ५ सय ८८ जना भोलिन्टियरहरुलाई तालिम दिईसकेको समेत बताए।
सोही अवसरमा महानिरीक्षक अर्यालले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको परिषर भित्र सम्पन्न भएको नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गर्नुका साथै ट्रमा सेन्टरको समेत अवलोकन गरेका थिए।