धनगढी: कञ्चनपुरमा दम्पती हत्या प्रकरणबारे सो क्षेत्रका माननीय तारा लामा तामाङले पनि चासो व्यक्त गरेका छन्। प्रतिनिधि सभा सदस्य एवं सुदूरपश्चिमका पूर्व मन्त्री ताराले हत्याको निष्पक्ष अनुसन्धानका लागि आग्रह गरेका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रविन्द्र केसी स्वयं गएर त्यहाँका जनप्रतिनिधिसहित माननीयको टोलीले घटनास्थलको निरीक्षण पनि गरिएको छ। डीआईजी केसीले घटनाको विस्तृत छानबिन भैरहेको र चाडैं टुंगो लाग्ने पनि बताएका छन्।
हालसम्म दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दर्जनौं बढीलाई सोधपुछ गरेको जनाएको छ। कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका- १ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै चाँडै घटनामा संलग्नहरू पक्राउ पर्ने जनाइएको छ।
प्रहरीका अनुसार दम्पतीले बिहीबारमात्रै बैंकबाट पैसा निकालेका थिए। त्यसको भोलिपल्टै उनीहरु मृत फेला परेका थिए। सुरुमा सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो, तर उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ।
यस्तै पुरानो रिसीइबी, लेनदेन तथा अन्य कुनै कारण हत्या भएको हुनसक्नेतर्फ पनि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। मृतकको फोन प्रहरीले बरामद गरेको छ। सोही फोनको आधारमा रहेर पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले अहिले कल डिटेल रेकर्ड (सीडीआर)मार्फत समेत अनुसन्धान थालेको छ।
प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सूक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमान्डमा प्रहरी टोली छ भने संघिय प्रहरीको पनि इन्सपेक्टर नेतृत्वको घटनास्थलमा खटिएर टोलीले अनुसन्धान गरिरहेको छ।
घटना के हो ?
कञ्चनपुर लालझाडी गाउँपालिका- १ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाले नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा सानो घरमा नास्ता पसल चलाउँदै आएका बडायक दम्पतीसँग राति ८ः३० बजेसम्म उनका छोरा पनि थिए। बुवासँग आफू रहँदासम्म केही नभएको, तर भोलिपल्ट एकै पटक बुवाआमाको शव देखेको छोराले प्रहरीलाई बयान दिएका छन्।
‘गर्मीका कारण उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए। एक्कासि घटना भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘घटना प्रकृति हेर्दा पहिले श्रीमतीलाई हानेर श्रीमानमाथि आक्रमण भएको देखिन्छ।’
कमलाको शव सुत्ने खाट नजिकै बरण्डामा रगताम्मे अवस्थामा थियो। रमेशको शव आँगनमा थियो। ढलेको थियो। टाउकोबाट अत्यधिक रगत बगेको थियो। दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए।
प्रहरी अधिकारीका अनुसार रमेशको चोट हेर्दा उनले आक्रमणकारीसँग केहीबेर प्रतिवाद गरेको देखिन्छ। प्रहरीले हत्या भएको आशङ्का गरे पनि हत्यामा प्रयोग भएका हतियारहरू अझै बरामद भएको छैन।
‘हामीले आक्रमणपछि हतियार फाल्नसक्ने सम्भावित ठाउँहरू पनि हेरेका थियौं, तर कहीँकतै हतियार भेटिएको छैन’, प्रहरी अधिकारीले भने, ‘आक्रमणकारीले आफ्नो कुनै सुराक नछोडेका कारण कुकुरले पनि धेरै कुरा पत्ता लगाउन सकेन।’
तालिमप्राप्त कुकुरको टोलीले केही पत्ता लगाउन नसकेपछि अहिले प्रहरी आफैंले शङ्कास्पद क्षेत्रहरूको खोजी बढाएको छ। भारत भाग्नसक्ने सम्भावना रहेको भन्दै नाकामा पनि सुरक्षा चेकजाँच कडा पारिएको छ।
र, यो पनि: कञ्चनपुरको लालझाडी हत्या प्रकरण: इन्सपेक्टरको नेतृत्वमा अर्को टोली खटाइयो, छोराको बयान लिइयो
कञ्चनपुरको लालझाडी हत्या प्रकरण: प्रहरी भन्छ– हत्यारा नजिक पुगिसकेका छौं
कञ्चनपुरको लालझाडी हत्या प्रकरण: झण्डै अढाई लाख बरामद, घटनास्थलको प्रकृति के छ ?