धनगढीः कञ्चनपुरमा ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३१ वर्षीय अमितकुमार वर्णवार र कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाकी ४० वर्षीया सीतादेवी चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट एक सय १८ ग्राम तीन सय ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट आइबिआरडीबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुलाई कञ्चनपुरको पुनरवास नगरपालिका–३ आइबिआरडीबाट पक्राउ गरिएको हो।
प्रहरी टोली खटिएको समयमा उनीहरु दुबै जना आइबिआरडीमा बसिरहेका थिए। उनीहरुमाथि शंका लागेपछि चेकजाँच गर्दा अमितकुमारको साथबाट लागूऔषध बरामद गरिएको हो । उनले सेताे प्लास्टिकमा बेरेर खैराे हेराेइन लुकाएका थिए। त्यहाँ प्रहरी टोली खटिनुअघि लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरलाई भने सूचना प्राप्त भएको थियो।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले यसलाई ठूलो सफलताका रुपमा हेरेका छन्। उनले ठूलो मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गर्न खटिएका प्रहरी अधिकारीलाई धन्यवाद दिएका छन्।