बुटवल – सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ वर्षीया मोहसिन अब्दुल्ला खान, उत्तर प्रदेशकै निसानगन्ज महानगरका २२ वर्षीया मोहम्मद सरिक र उत्तर प्रदेशकै गोमती कोलोनीका ३५ वर्षीया मोहद जिसान खान रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।
वैशाख २६ मा लुम्बिनी सांस्कृतिक–४ महुवारीबाट उनीहरु पक्राउ परेका हुन् । रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको चोरी गर्ने समूह नै रहेको र लामो योजना बनाएर सुन पसल चोरी गरेका थिए ।
चोरी गर्नकै लागि उनीहरुले सुन पसलको छेउको सटर भाडामा लिएका थिए । उनीहरुको साथबाट प्रहरीले यूपी ३२ एलडब्लू ३१५१ नम्बरको कार, एउटा ३१ ग्राम ५० मिलिग्राम, एउटा बीस ग्राम, एउटा २९ ग्राम १६० मिलिग्राम, दुईवटा १०–१० ग्राम गरी कुल एक सय ग्राम ६६ मिलिग्राम सुनको सिक्का बरामद गरेको छ ।