काठमाडौं: नेपाल राष्ट्र बैंकले १ सयको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएपछि भारत चिढिएको छ। गत वैशाख २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले भारतीय अतिक्रमित भूभाग कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’सहितको तस्वीर राखेर नयाँ नोट छाप्ने निर्णय गरेको थियो।
यससँगै नेपाल राष्ट्र बैंकले बोलपत्र आह्वान गर्दै चिनियाँ कम्पनी बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोशनलाई ३० करोड प्रति नोट छाप्ने ठेक्का दिएको छ।
यही विषयलाई लिएर छिमेकी देश भारतले भने नेपालसँग असन्तुष्टी जनाएको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा दुई देशबीच ३५ वर्षदेखि विवाद चलिरहेको र अहिले नेपालले आफ्नो दाबी गरेर सयको नोटमा नयाँ नक्सा छाप्न लागेको भन्दै भारतले असन्तुष्टि पोखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। तर, भारत असन्तुष्ट हुनुको मुख्य कारण चाहिँ पैसा छाप्ने ठेक्का चीनलाई दिएकोप्रति हो।
यसअघि सरकारले ०७९ मंसिरमा एक हजारको नोट छाप्ने ठेक्का भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई दिएको थियो। त्यतिबेला ४३ करोड प्रति हजारका नोट छापिएको थियो। तर, अहिले सयको नोट छाप्ने ठेक्का भारतीय कम्पनीलाई नदिएर चिनियाँ कम्पनीलाई दिएपछि भारत असन्तुष्ट बनेको बताइएको छ।