काठमाडौं: सीमा सुरक्षाको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल नेपालमा २ महिनादेखि २ डीआईजीका पद रिक्त छन्। यस अगाडि डीआईजीद्वय अवकाशमा गएपछि रिक्त पदमा बढुवा नभएको हो।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकमार्फत बढुवाका लागि चर्को दबाब रहेका कारण बढुवा रोकिएको हो। पछिल्लो समय सरुवा बढुवामा प्रहरी र सशस्त्रमा दबाब बढ्दो छ।
ब्याच नै मिचेर डीआईजीमा बढुवाको चलखेल भएपछि बढुवा प्रक्रिया अन्योलमा परेको बताइन्छ। डीआईजी पदमा सिंस १ का दुई एसएसपी बढुवाका मुख्य दाबेदार हुन्।
सिंस १ का ४ जना एसएसपीमा छन्। तर, सिंस २ का एसएसपी दीपेन्द्र कुँवरले जसरी पनि आफु बढुवा हुन गृहमन्त्री रमेश लेखकमार्फत दबाब दिएपछि बढुवा रोकिएको बुझिएको छ। सोही कारण आईजीले बढुवा रोकेको जनाइएको छ।
कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनीज्वाई हुन्। कुँवर हाल सशस्त्र प्रहरीको खरिद महाशाखा हेर्दै आएका छन्।
यस्तै डीआईजीको बढुवा नहुँदा तल्लो तहसम्म बढुवा प्रक्रिया रोकिएको छ।