धनगढी: डोटीको एक अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको छ। बुधबार राति राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो।
खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो।
शिखर नगरपालिका वडा नम्बर ३ मा पर्ने मामा घरमा खेल्ने क्रममा उनको हात भाँचिएको थियो। १७ गते आमा ज्ञानु सार्कीसँगै मामाघर गएकी रजनीको मामाघरका बालवालिकासँग खेल्नेक्रममा हात भाँचिएको हो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो।
स्रोतका अनुसार सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले रियाक्सन गरी मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अहिले प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ। डाक्टर राजमणि यादव, डाक्टर सुरेन्द्र कुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मृतक बालिकाको शव भने अस्पतालमै छ। बालिकाको लडेर हात भाच्चिएपछि अप्रेसन गर्दा बेहोस हुने इन्जेक्सन लगाउदा अस्पतालमा मृत्यु भएको बताइएको छ। अहिले प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।
मृतकका बुवा कामका लागि भारतमा छन्। छोरीको मृत्यु भएको खबर सुनेपछि उनी फर्किरहेका आफन्तले जनाएका छन्।