डडेल्धुराः डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध मुद्दा दायर गरिएको छ। ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिटमा संलग्न पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई अमरगढी नगरपालिका–५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकिएको थियो।
चेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु–४ का २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले सहायक प्रहरी हवल्दारमाथि कुटपिट गरेका थिए। कुटपिटबाट प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडि चोट लागेको थियो।
त्यसपछि भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। घटनामा संलग्न अन्य तीन जना अजयमेरु–४ चिपुरका २६ वर्षीय पदम चटौतलाई घरबाट, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई अमरगढी–५ बागबजारबाट पक्राउ गरिएको थियो।
मङ्गलवार बेलुकी साढे ६ बजेको समयमा प्रहरी सहायक हवलदार पन्तले धनगढीबाट डडेलधुरातर्फ गइरहेको जीजे ०५ आरभी ८८४८ भारतीय नम्बर प्लेटको कार रोकेर चेकजाँच गर्न रोकेका थिए।
सोही क्रममा कारमा सवार अजयमेरु गाउँपालिका–४ का २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरेका थिए। प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडि भागमा ढुङ्गाले हानी शक्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।
पक्राउ परेका पाँचै जना विरुद्ध सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा मुद्दा चलाएर ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते प्रहरी सहायक हवल्दारको माया मेट्रो अस्पताल धनगढीमा उपचार गराएर त्यहाँबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्नहरुले मदिरा सेवन गरेको पाइएको समेत प्रहरीले बताएको छ।