काठमाडौं: डोटीको एक अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको छ। बुधबार राति राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो।
खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो।
शिखर नगरपालिका वडा नम्बर ३ मा पर्ने मामा घरमा खेल्ने क्रममा उनको हात भाँचिएको थियो। १७ गते आमा ज्ञानु सार्कीसँगै मामाघर गएकी रजनीको मामाघरका बालवालिकासँग खेल्नेक्रममा हात भाँचिएको हो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो।
स्रोतका अनुसार सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले रियाक्सन गरी मृत्यु भएको हो।
त्यसपछि प्रहरीले सो घटनामा जिल्ला प्रहरी कार्यालय डोटीले हिजो उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको थियो।
डाक्टर राजमणि यादव, डाक्टर सुरेन्द्रकुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर नियन्त्रणमा लिएका तीनै जना चिकित्सकलाई प्रहरीले छोडिसकेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार बालिकाको शव पोस्टमार्टमका लागि सिलगढी अस्पताल पठाइएको छ।
आफन्तहरुले उपचारमा लापरबाही गर्ने चिकित्सकहरुलाई कारवाहीको माग गर्दै शव बुझ्न मानेका थिएनन्। तर बालिकाका आफन्तले अस्पताललाई कारबाही गर्न मुद्दा दर्ता गरेपछि शव पोस्टमार्टम गर्न सिलगढी अस्पताल पठाइएको भट्टले बताए।
प्रहरीले बुधबार रातिदेखि नै अस्पतालमा सुरक्षा पहरा दिइरहेको छ। मृतक बालिकाका आफन्त पनि अस्पतालमा भेला भएका छन्।
अस्पताल प्रशासनले बालिकाको सल्यक्रियाका बेला एनेस्थेसीयाको रिएक्सन भएको प्रतिक्रिया दिएको प्रहरीले जनाएको छ।
बालिकाको सल्यक्रिया अर्थोपेडिक सर्जन सुरेन्द्र चौधरीको नेतृत्वको टोलीले गर्ने तयारी भएको थियो भने विएस्सी एनेस्थेथिया गरेका अभिषेक यादवले उनलाई एनेस्थेसिया दिएका थिए। तर मृतक बालिकाका आफन्तले सम्वन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै एफआइआर दर्ता गरेका छन्।
शवको पोस्टमार्टम रिपोर्टपछि बाँकी कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
र, यो पनि: डोटीको सुजङ अस्पतालमा बालिकाको मृत्यु, ३ डाक्टर नियन्त्रणमा