धनगढी: अछाममा कार्यरत रहेका एकजना प्रहरी सहायक निरीक्षक(असइ)लाई स्थानीयले कुटपिट गरेको खुलेको छ। तुर्माखाद गाउँपालिका वडा नम्बर १ मा रहेकाे रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह धामीलाई स्थानीयले कुटपिट गरेका हुन्।
कार्तिक १४ गते राति असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी २ किलोमिटर टाढाको गाउँमा एक्लै पुगेका थिए। मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेकाे स्रोतले बतायो।
घटनामा प्रहरी सहायक निरीक्षक धामी घाइते भए पनि यो घटना बाहिर कतै सार्वजनिक नगरिएको पाइएकाे छ। चाडपर्वका बेला जनतालाई शान्ति र सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी कर्मचारीबाट अमर्यादित हर्कत भएपछि स्थानीयले यसको प्रतिवाद गरेकाे बताइएकाे छ।
उनीमाथि कुटपिट भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै पनि जानकारी नभएको बुझिएको छ।