काठमाडौं: ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सदरखोर डिल्लीबजारको ‘ख’ ब्लकमा राखिएको छ।
कात्तिक २० गते सर्वोच्चले दोषी ठहर गरेसँगै फरार रहेका उनी आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङमा रहेको एक महिला साथीको अपार्टमेन्टबाट पक्राउ परेका थिए। लगत्तै फैसला कार्यान्वयनको निम्ति काठमाडौँ जिल्ला अदालत पुर्याइएका मनाङेलाई अपरान्ह डिल्लीबजार कारागार लगिएको हो।
मनाङ्गे उनै मान्छे हुन्, जो लामो समयसम्म काठमाडौंलाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा राज चलाउथे। सोही क्रममा मनाङे एकाएक राजनीतिमा लागे। राजनीतिमा लागेको तीन वर्ष भित्रै छ पटक मन्त्री बन्न सफल मनाङे आज हातमा हत्कडी भिरेर डिल्लीबजार कारागार प्रवेश गरेका हुन्।
वि.सं २०७९ मा मनाङ ‘ख’ बाट निर्विरोध निवाचित भएका मनाङे त्यसपछि मात्रै तीन पटक मन्त्री बनेका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेका बेला उनको एक मतले पद जोगाएकै भरमा उनी पटक–पटक मन्त्री बन्न सफल भए। केहि वर्ष अघिसम्म प्रहरी देख्नेवित्तिकै भागाभाग गर्ने उनै मनाङे मन्त्री बनेपछि प्रहरीका हाकीमहरुको स्यालुट थाप्न ब्यस्त भए।
अदालतले ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।
सरकारी वकिलको कार्यालय, मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गयो। मनाङे जेल बाहिरै रहे। २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए।
त्यसअघि पनि उनी पक्राउ परिसकेका थिए। वडा प्रहरी कार्यालय लैनचौर, सोह्रखुट्टेका इन्स्पेक्टर अशोक सिंहले उनलाई ठमेलबाटै गिरफ्तार गरेका थिए। चारखालस्थित अनाश्रित गुल्ममा २४ महिना कैद भुक्तान गरेपछि तत्कालीन पुनरावेदन अदालत पाटनले थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दियो।
तर, त्यसपछि पनि उनी पटक पटक पक्राउ परे र ३२ महिनाको सजाय भुक्तान गरे। २०६१ सालमा पहिलो पटक पक्राउ परी मनाङे २०६३ सालमा रिहा भए।
मनाङेको व्यवसायिक यात्रा
२०४७ सालमा ठमेल, चाक्सीबारीमार्गको घरमा उनले ‘याक हर्न पव’ नामक रेष्टुरेण्ट खोलेर व्यावसायिक जीवन शुरु गरेका थिए। अहिले उनका केही गिटी, बालुवाका व्यवसाय त बाँकी छन्। अरू सबै व्यवसायबाट अलग भई राजनीतिमा होमिए। २०५०–०५२ देखि ०६०–०६१ सालसम्म उनले काठमाडौंको रात्रिकालीन व्यवसायमा करिब करिब एकछत्र उपस्थिति जनाएका थिए।
२०६१ को घटनापछि चक्रे पक्षीय व्यवसायीले नयाँ बसपार्क, सामाखुसी र महाराजगञ्जतिरै आफ्नो व्यवसाय चलाए, ठमेल–दरबारमार्ग ताकेनन्। तर, उनको गुण्डागर्दी भने रोकिएको थिएन । २०६१ को घटनाकै बाछिटास्वरुप २०६६ सालसम्म दुई समूहबीच झडप जारी रह्यो। दरबारमार्गमा चक्रे समूहनिकट कुमार घैँटे र मनाङे पक्षका दावा लामाको अकस्मात् जम्काभेट हुँदा झडप भएको थियो।