काठमाडौं: नेकपा एमाले नेता कर्ण थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेमाथि छानबिनको माग गरेका छन्।
क्यासिनोको लाइसेन्स दिँदा करोड बढी रकम लिएको भन्दै कांग्रेस सांसद राजेन्द्र बजगाईले मन्त्री पाण्डेलाई लगाएको आरोपको छानबिन हुनुपर्ने थापाले माग गरेका हुन्।
कसैले भनेका भरमा दोषी वा निर्दोष किटान गर्नु उचित हुँदैन। यसमा पक्ष विपक्षमा लाग्नु पनि ठिक हुँदैन। निष्पक्ष छानबिन गरेर मात्रै यसको निरूपण हुन सक्ने उनले सामाजिक सञ्जालमा लेखेका छन्।
छानबिनबाट दोषी देखिए दण्डित गर्ने र निर्दोष देखिए ससम्मान सफाई दिइनु न्याय र लोकतन्त्र सम्मत हुनेछ । सबैलाई मेरो अनुरोध छ। न्यायिक छानबिनको माग गरौं। छानबिनको निष्कर्षलाई सबैले मानौं ।
थापाले मन्त्री पाण्डेको अभिव्यक्तिलाई पनि जोडेका छन्। नेपाली काङ्ग्रेसकै सांसदले क्यासिनोको अनुमति दिए बापत करोडौं घुस लिएको सार्वजनिक गरे। करोड होइन कौडी लिएको भेटिए पशुपतिनाथ मन्दिर अगाडि झुन्डिन तयार रहेको मन्त्री बद्री पाण्डेको सार्वजनिक घोषणाा पनि सुनियो।
कुनै पनि व्यक्तिले कसैलाई पनि झुटो आरोप लगाउन पाइदैन। आरोप तथ्यमा आधारित हुनु पर्दछ। राजनीति प्रतिस्पर्धा आफ्नो ठाउँमा होला, चलिरहन्छ थापाले लेखेका छन्।
प्रसिद्ध पर्यटन व्यवसायी समेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सनलन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका थिए। पाण्डेयले भने यसको खण्डन गर्दै रकम नलिएको बताएका छन्।