धनगढीः कैलालीमा प्रहरीकै कर्मचारीले तस्करीका माल सामान बिक्रीवितरण गर्ने गरेको खुलेको छ। जिल्लाको धनगढीस्थित त्रिनगर सीमानाका क्षेत्रमा एक प्रहरी हवल्दारले तस्करीको सामान बिक्री गर्ने गरेको बताइएको हो।
सो विषय बाहिरिएपछि त्रिनगर प्रहरी चौकीका तत्कालीन प्रहरी सहायक हवल्दार विक्रम चन्दमाथि छानबिन थालिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा तानेर छानबिन थालिएको हो।
चन्दले ९ महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेको छ। सो आरोपपछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ।
सो टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार चन्दले तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको निर्देशनमा छानबिन टोली गठन गरिएको थियो।
प्रहरीका अनुसार छानबिन टोलीले पीडित भनिएका कवाड व्यापारी, त्रिनगर प्रहरी चौकीका प्रमुख शैलेन्द्र चन्द, स्थानीय तथा अन्य प्रहरी कर्मचारीहरुसँग सोधपुछ सुरु गरेको छ। चन्दले भारतबाट तस्करी गरेर ल्याइएको सामान जफत गरेर कवाड व्यापारीहरुलाई बिक्री गर्दै आएको आरोप लागेको थियो। त्यसपछि उनी जिल्ला तानिएका थिए। प्रहरीमात्र होइन, भारतीय कवाड व्यापारीले पनि धनगढीका पसलहरुमा तस्करीको सामान बिक्री गर्दै आएका छन्।