काठमाडौं: गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ। मन्त्रालय स्रोतकाअनुसार जनपदतर्फ ३ जना र प्राविधिकतर्फ २ जना गरेर ५ डीआईजी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतीका लागि पठाइएको छ।
प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको योजना तथा अन्वेषण निर्देशनालयले तीनजनाको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अघि बढाएपछि प्रहरी प्रधान कार्यालयले उक्त प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गरिएको हो। यी तीनवटै ठाउँमा एसएसपीको दरबन्दी रहे पनि अहिले डीआईजी नै खटाइँदै आएको छ।
प्राविधिकतर्फ सञ्चार निर्देशनालय र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक-एक जना थप गर्न प्रस्ताव गरिएको छ। अहिले सञ्चार निर्देशनालयमा एसएसपी गोपालप्रसाद रेग्मी र विधि विज्ञानमा एसएसपी राकेश सिंह कार्यरत रहेकाले उनीहरूलाई नै बढुवा गर्नेगरी दरबन्दी थपको प्रस्ताव गरिएको हो।
प्राविधिकतर्फ तत्कालीन एसएसपी नवीन्द अर्याल र डा.देउती गुरुङलाई नै बढुवा गर्नका लागि साइबर ब्यूरो र केनाइन कार्यालयमा दुई डीआईजीको दरबन्दी थपिएको थियो। उनीहरू अनिवार्य अवकाशमा गएसँगै दरबन्दी पनि स्वत: हटेको छ। अहिले सञ्चार निर्देशनालय र विधि विज्ञानमा भने स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अघि सारिएको छ।
प्रहीमा प्राविधिकतर्फ अहिले ७ डीआईजी छन्। २ जना डीआईजीपी थपिए यो संख्या ९ पुग्नेछ। ५ डीआईजी थप्दा आर्थिक भार थपिने भन्दै मन्त्रालयले स्वीकृतिका लागि अर्थमा फाइल पठाएको हो। गृहबाट आएको प्रस्तावउपर कुनै निर्णय भइनसकेको अर्थ स्रोतले बतायो।
हाल नेपाल प्रहरीको जनपदतर्फको २० डीआईजी दरबन्दीमध्ये ८ रिक्त रहेको छ। जसमा आईजीपी वसन्त कुँवरसँगै त्यसपछिका थप दुई ब्याचीका एसएसपी बढुवाका लागि प्रतिस्पर्धामा छन्।
तीन ब्याचका एसएसपीमध्ये क-कसलाई बढुवा गर्ने भन्ने गृहमन्त्री रमेश लेखक र मन्त्रालयलाई सकस परेपछि दरबन्दी थप गरेर संकट टार्ने तयारी अघि बढाइएको हो।
गत असार २१ देखि अहिलेसम्म गरेर जनपदतर्फ ८ जना डीआईजीको पद रिक्त रहेको र जनपदतर्फ ३ जनाको दरबन्दी थप गरेर एकै पटक ११ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने गृह मन्त्रालयको तयारी छ।
अहिले प्रस्तावित ५ डीआईजीपीको दरबन्दी थप भएमा जनपदतर्फ २३ र प्राविधिकतर्फ ९ गरेर प्रस्ताव अनुसार दरबन्दी थप भएमा डीआईजीको संख्या ३२ पुग्नेछ।
नेपाल प्रहरीमा धेरै भएको भन्दै आफैँले कटौती गरेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी केपी शर्मा ओलीको सरकारले गरेको बुझिएको छ। यसअघि ओली प्रधानमन्त्री हुँदा नै नेपाल प्रहरीमा कटौती गरिएका दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढेको थियो।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैतमा एकसाथ १२ जना डीआईजीको दरबन्दी कटौती गरेको थियो। एआईजीको दरबन्दी पनि ९ बाट घटाएर तीन वटामा सीमित गरिएको थियो। अहिले उक्त दरबन्दी बढाएर ८ पुर्याइएको छ। प्राविधिकसहित प्रहरीमा अहिले एआईजीको दरबन्दी ९ पुगेको छ।
डीआईजीको दरबन्दीमध्ये ७ प्रदेशमा ७ जना डीआईजीको दरबन्दी कायम छ। यस्तै अपराध अनुसन्धान विभाग, महिला बालबालिका निर्देशनालय, कार्य विभाग, प्रशासन विभाग, विशेष ब्युरो, सचिवालय, प्रदेश समन्वय, अन्वेषण योजना निर्देशनालय, साइबर ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, उपत्यका प्रहरी कार्यालय, सीआईबी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा डीआईजीको दरबन्दीे छ।
यस्तै, प्राविधिकतर्फ ५ जना डीआईजीको दरबन्दी प्रहरी अस्पतालमा छ। यसमध्ये ३ जनाको रिक्त छ। साइबर ब्युरो, सूचना तथा प्रविधि महाशाखा, केनाइन स्कुल, इन्जिनियरिङ महाशाखामा डीआईजीको दरबन्दी कायम छ। प्राविधिकसहित हाल २९ जना डीआईजीको दरबन्दी कायम छ। दुई वटा विशेष दरबन्दी छाड्दा पनि २७ जनाको दरबन्दी रहनेछ। तर अझै थप गरेर ३२ जना पुर्याउन लागिएको हो।
यसअघि ओली प्रधानमन्त्री हुँदा नै १४ मा झारिएको डीआईजीको दरबन्दी दोब्बर पुर्याउन लागिएको हो। दरबन्दी कटौती गरेको एक वर्ष नपुग्दै २०७७ मंसिरमा ५ जना डीआईजीको दरबन्दी थप गरिएको थियो। त्यतिबेला पनि प्रधानमन्त्री ओली नै थिए। फेरि ओलीले नै दरबन्दी थप्न लागेका हुन्।