धनगढी: सुदूरपश्चिममा हिजो निकै तामझामका साथ प्रदेशस्तरीय सुरक्षा गोष्ठी गरियो। अस्ति नै गृहमन्त्री, गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखसहित जहाजमा गोष्ठीका लागि भन्दै प्रदेशको अस्थायी मुकाम धनगढी ओर्लिएका थिए।
त्यसपछि हिजो (मंगलबार) धनगढीको एक होटलमा गोष्ठी पनि सम्पन्न भएको छ। तर गोष्ठीमा सहभागी सुरक्षा निकायकै उच्च अधिकारीहरुले भने कार्यक्रम गरेर रित पुगाएकोजस्तो मात्रै गरिएको टीप्पणी गरेका छन्।
त्यहाँ सहभागी एक सुरक्षा अधिकारीका अनुसार कार्यक्रम (गोष्ठी) परम्परावादी नै भएको थियो। गोष्ठीमा नयाँ कार्ययोजना तर्जुमा गरेर प्लानका साथ डकुमेन्टेसन गर्दै कार्यान्वयनको चरणमा लैजानुपर्ने भनिएपनी त्यस्तो नगरिएको हो।
गोष्ठीमा पुराना कुराको समीक्षा गर्दै मातहतलाई निर्देशन दिनेबाहेक अन्य कुनै नयाँ योजना भने नबनाइएको ती अधिकारीको भनाई छ। नयाँ कार्ययोजनाका साथ जानुपर्नेमा उहीँ पुरानौ शैलीमा कार्यक्रम गरेर औपचारिकता मात्रै निभाउनमा गोष्ठी सीमित भएको उनको बुझाई छ।
जबकी धनगढीमा हिजो सम्पन्न भएको सो गोष्ठीमा गृहमन्त्रीदेखि गृहसचिव लगायत सुदूरपश्चिमका मुख्यमन्त्री, कानुनमन्त्री तथा सुरक्षा प्रमुखहरुले गोष्ठीमा निर्देशन दिने र भाषण दिने काम मात्रै गरेका थिए।
नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा गरिएको सो गोष्ठीमा छलफल र भाषणबाहेक कुनै नयाँ कार्ययोजना नबनेको बताइएको छ।
गोष्ठीमा गृहमन्त्री रमेश लेखकले चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरू चुस्त दुरुस्त हुनुपर्ने बताएका थिए। उनले उपनिर्वाचनलाई शान्तिपूर्वक, निष्पक्ष र स्वतन्त्र रूपले सम्पन्न गर्न पनि निर्दशन दिएका थिए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र प्रमुख सचिव डा. कमल प्रसाद पोखरेलले पनि गोष्ठीको औचित्यबारे आ–आफ्नो विचार व्यक्त गरेका थिए।
यस्तै प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका थिए।
गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनको जोड थियो। स्थानीय तहको उप–निर्वाचनमा विगतमा सामना गरिएका सुरक्षा चुनौतीहरू तथा जोखिमहरूको विश्लेषण गरी सुरक्षा योजना निर्माण तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन समेत दिएका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रकाश देउजा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह–सचिव छवि रिजाल र सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यले आ–आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गरेका थिए।
गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो। गोष्ठीमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
गोष्ठी सम्पन्न भएपश्चात गृहसचिवसहित सुरक्षा प्रमुखहरु हिजै काठमाडौं फर्किएका छन् भने गृहमन्त्री आज गृहजिल्लातर्फ गएका छन्। उपनिर्वाचनको प्रचारका लागि उनी त्यहाँ पुग्न लागेको बताइन्छ। उनको आफ्नै वडामा अहिले उपनिर्वाचन हुँदैछ।
र, यो पनि: शान्ति सुरक्षा मजबुत, उपचुनावमा सुरक्षा चुनौती नरहेको आइजी कुँवरको ठहर
सुदूरपश्चिममा लागूऔषध व्यापक भयो, निर्मम भएर लागौं : गृहमन्त्री लेखक
धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी, बन्दशत्र जारी
धनगढीमा गृहमन्त्री, गृहसचिवसहित आईजीत्रयको टोली, भोलि गोष्ठी